काठमाडौं । मुम्बईको कोठीमा महिला बेचबिखन गरेको आरोप लागेका एक व्यक्ति पक्राउ परेका छन् । ३० वर्षदेखि फरार ती व्यक्ति हुन् सिन्धुपाल्चोक पाँचपोखरी थङपाल गाउँपालिका-७ खोङ्गेका ५७ वर्षीय चमारे भनिने चमार तामाङ ।
मानव बेचबिखन तथा ओसारपसार ब्युरोको टोलीले तामाङलाई बिहीबार उनकै घरबाट पक्राउ गरेको प्रवक्ता प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले बताए । उनले २०४४ साल पुस १९ गते काठमाडौंबाट दिल्ली हुँदै मुम्बई पुर्याएर एक महिलालाई बिक्री गरेको उजुरी प्रहरीमा थियो ।
मुम्बईमा रिता तामाङ गरेकी नेपाली महिलाले सञ्चालन गरेको कोठी नम्बर ७ मा पुर्याएर तामाङले ८० हजार रुपैयाँमा महिलालाई बिक्री गरेको प्रवक्ता कुँवरले बताए । कुँवरका अनुसार ती महिला चाबहिलस्थित गलैंचा बुन्ने कारखानामा काम गरिरहेकी थिइन् ।
तामाङले ‘त्यस्तो काम गर्दा टिबी रोग लाग्छ, हङकङमा गएर सुनको व्यापार गरौं, तिमीजस्तो केटीले बढी सुन ल्याउन सक्छौ’ भन्दै विश्वासमा पारेर मुम्बई पुर्याएका थिए । उक्त कोठीमा सात वर्षसम्म महिलालाई वेश्यावृत्तिमा लगाइएको थियो ।
त्यही क्रममा टिबी रोग लागेपछि उनलाई साहुनीले २०५१ माघमा नेपाल फिर्ता पठाइन् । नेपाल आएपछि उनले २०५२ साल फागुन १ गते सिन्धुपाल्चोक प्रहरीमा जाहेरी दिइन् ।
सिन्धुपाल्चोक प्रहरीले जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाएको थियो। परिसरले मुद्दा दर्तापछि २०७७ साल असोज ६ गते ब्युरोमा मिसिल पठाएको थियो । फरार प्रतिवादी खोजी सिलसिलामा तामाङलाई लामो समयपछि पक्राउ गर्न सफल भएको कुँवरले बताए ।
तामाङलाई काठमाडौं जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ ।
