काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारमा जाने कुनै रुचि नभएको स्पष्ट पारेका छन् ।
१३६ औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा अखिल नेपाल ट्रेड युनियन महासंघले बिहीबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले यथास्थितिवादी पार्टीहरूसँग मिलेर सरकारमा जाने कुनै रुचि नभएको बताउँदै आफूहरू जनताहरूसँग ठिक रहेको बताए ।
उनले सञ्चारमाध्यममा आउने विभिन्न समाचारहरूबाट अलमलमा नपर्न नेता तथा कार्यकर्ताहरूलाई आग्रह गरे । आफूहरू फेरि एकचोटी नयाँ आर्थिक क्रान्तिद्वारा मुलुकमा देखिएका तमाम समस्याहरूको समाधान गर्न अग्रसर भएको जिकिर गरे ।
अध्यक्ष प्रचण्डले फेरि एकचोटी नयाँ आन्दोलन र नयाँ अभियानलाई सफल बनाएर संविधानको समीक्षा, संविधान संशोधनसहित अहिले भोगिरहेका समस्याहरूलाई समाधान गरिने बताउँदै एकताको बलमा पार्टीलाई नयाँ ठाउँमा लैजाने जमर्को गरिरहेको धारणा राखे ।
उनले माओवादी केन्द्रलाई कसैको खुट्टामा नटेकी उभिन नसक्ने भयो भन्दै आरोपित र अपमानित गर्न खोजिएको बताए । माओवादी केन्द्रले कसैसँग नमिली आफ्नै खुट्टामा उभिएर चुनाव लडेपछि गत उपनिर्वाचनमा देशकै पहिलो पार्टी बनेको जिकिर गरे ।
अध्यक्ष दाहालले नेपाली कांग्रेस र नेकपा (एमाले)का विद्यार्थी सङ्गठनहरू मिल्दा समेत गत स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा आफूहरूले धेरै ठाउँ जितेको र ऐतिहासिक रेकर्ड बनेको जिकिर गरे । उनले नयाँ आन्दोलन, नयाँ अभियान र नयाँ क्रान्तिको नेतृत्व गर्न पार्टी तयार रहेको दोहो¥याउँदै आन्दोलनका लागि तयार रहन नेता कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष दाहाले मुलुकमा पछिल्लो समय राजनीतिक परिवर्तनलाई नै उल्ट्याउने दुस्साहस हुन खोजेको बताउँदै उक्त दुःशाहसलाई रोक्ने ठूलो जिम्मेवारी आफूहरूको काँधमा आएको समेत बताए ।
