काठमाडौं । प्रधानमन्त्री एवं नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले श्रमिक वर्गलाई निरङ्कुश राजतन्त्र पुनःस्थापनाको सपना देखिरहेका असहिष्णु र अराजक प्रवृत्तिविरुद्ध एकताबद्ध हुन आह्वान गरेका छन्।
१३६औं अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानबाट समाप्त गरिएको राजतन्त्र फर्काउने प्रयास भइरहेकोप्रति चिन्ता व्यक्त गरे।
“चैत १५ मा तीनकुनेमा भएको हिंसात्मक घटनाले राजतन्त्रवादीहरुको अराजकताले कस्तो रूप लिएको स्पष्ट देखियो,” ओलीले भने, “शान्ति कायम गर्न उभिएका प्रहरीलाई गाडीले किच्ने काम भएका छन्, यस्तो प्रवृत्तिको हातमा सत्ता पुगे के होला भन्ने सोच्नुपर्छ।”
प्रधानमन्त्री ओलीले कलाकारको स्वतन्त्रतासमेत स्वीकार नगर्ने प्रवृत्ति देखिएको भन्दै, यस्तो असहिष्णु मानसिकता लोकतन्त्र र सभ्य समाजका लागि खतरनाक भएको बताए। उनले श्रमिक वर्गलाई सशक्त र सचेत रहन आग्रह गर्दै लोकतन्त्रको रक्षा र समृद्ध राष्ट्र निर्माणमा योगदान दिन आह्वान गरे।
“हामी समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा लिएर अगाडि बढिरहेका छौं,” उनले भने, “हाम्रो झण्डा रातो हुनु कुनै संयोग होइन, यो मजदुरको रगत, पसिना र बलिदानको प्रतीक हो।”
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाललगायतले पनि श्रमिक दिवसका सन्दर्भमा श्रमिक अधिकार र योगदानको उच्च मूल्याङ्कन गरेका थिए।
