काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दिपक थापाले वरिष्ठताको आधारमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा निकाल्न सफल भए । २०८२ वैशाख १५ गते सरकारले ६ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु चन्द्रकुवेर खापुङं, लाल मणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दानबहादुर कार्की, राजन अधिकारी र मनोज केसीलाई एआईजीमा बढुवा गरेको थियो ।
डिआईजीको बरीयताअनुसार नै बढुवा गरिएकाले पहिलो निर्णयमा नै आईजीपी थापा सफल भए । अब सरकार र आईजीपी थापाको चासो डिआईजी बढुवामा रहेको छ । अहिले डिआईजीका लागि १० पद रिक्त रहेका छन् । जसमा दुई दर्जन प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)बीच प्रतिस्पर्धा हुने भएको छ ।
डिआईजी बढुवामा अब गृहमन्त्री रमेश लेखक तथा आईजीपी थापाले वरीयता अनुसार नै गर्छन् कि कार्यसम्पादन मूल्यांकन हेरेर तलमाथि गर्छन् ? यो चाहिँ प्रतिक्षाका घडी भएको छ ।
ज्येष्ठता कि कार्यक्षमता अनुसार बढुवा गर्ने भन्ने विषयमा विवाद हुँदा एसएसपीबाट डिआईजीमा बढुवा रोकिएको प्रहरी प्रधान कार्यालय स्रोत बताउँछ । तर, गृहमन्त्री लेखकले रिक्त रहेका डिआईजीमा कार्यक्षमताका आधारमा बढुवा गर्न आईजीपी थापालाई सुझाव दिएका छन् ।
तर कार्यक्षमतालाई मात्रै आधार मानेर बढुवा गर्दा विवाद हुने भन्दै विचार गर्नुपर्ने राय आईजी थापाले राखेको उनी निकट स्रोतको भनाइ छ ।
‘गृहमन्त्रीज्यूले कार्यक्षमता अनुसार बढुवा गर्ने संकेत गर्नुभयो । ज्येष्ठतालाई पन्छाएर कार्यक्षमतालाई मात्रै केन्द्रमा राखेर बढुवा गर्दा विवाद हुन सक्ने आईजी सापले ब्रिफिङ गर्नुभएको थियो,’ आईजी थापा निकट स्रोतले स्कुपखबरसँग भन्यो ।
ज्येष्ठता र कार्यक्षमतामा कुरा अल्झिदा यो पटकको डिआईजी बढुवा भने निकै रोचक र पेचिलो बनेको छ । यसपटक फरक–फरक मितिमा एसएसपीमा बढुवा भएका तीन ब्याचीहरुबीच डिआईजी बन्ने होडबाजी चलेको छ ।
को को छन् प्रतिस्पर्धी ?
राष्ट्रिय अनुसन्धान विभागबाट आएका ओम बहादुर राना, माधव प्रसाद श्रेष्ठ, दीपेन्द्र घर्ती क्षेत्री, शारदा प्रसाद चौधरी, विनोद घिमिरे, जयराज सापकोटा, सञ्जीव शर्मा दास, सुरेन्द्र बहादुर गुरुङ, दिलीप सिंह देउवा र दीपक कुमार बस्नेत डिआईजीको प्रतिस्पर्धी हुन् ।
यस्तै २०५४ चैत १८ मा भर्ना भएका सुदर्शन कोइराला र दीपक रेग्मी डिआईजी बन्ने दौडमा छन् । तर, उनीहरूसँगै भर्ना भएका कार्की, केसी र अधिकारी चाहिँ एआईजीमा बढुवा भइसकेका छन् ।
स्रोतले दिएको जानकारी अनुसार, डिआईजी बढुवाका लागि २०५६ असार ३ गते प्रहरी निरीक्षकमा भर्ना भई आधारभूत तालिमको १ सय १२ नम्बर टोली प्रमुख दावेदार मानिन्छ । यो टोलीका पनि तीन चरणमा एसएसपी बढुवा भएका अधिकृत नै खरो प्रतिस्पर्धामा उत्रिएका छन् ।
यस टोलीबाट डिआईजी बढुवाको वरिष्ठ सूचीमा एसएसपीहरू विश्व अधिकारी, भूपेन्द्रबहादुर खत्री, सानुराम भट्टराई, ओमप्रसाद अधिकारी रहेका छन् । यसैगरी, एसएसपी शेखर खनाल, अविनारायण काफ्ले, सोमेन्द्रसिंह राठौर, मुकुन्द मरासिनी, दीपशमशेर जबरा पनि बढुवाका दावेदार हुन् ।
त्यस्तै डिआइजी बढुवाको दावेदारहरुमा गोपालचन्द्र भट्टराई, प्रवीण पोखरेल, गंगा पन्त, कृष्णबहादुर पल्ली मगर, तारादेवी थापा र प्रज्वल महर्जन पनि रहेका छन् । माथि उल्लेखित नामहरुमध्येबाट नै १० जना डिआईजीमा बढुवा हुने प्रहरी संगठन स्रोतले जानकारी दिएको छ ।
डिआईजीमा बरीयताभन्दा कार्यसम्पादन र कार्यक्षमता हेरिने सम्भावना अधिक रहेको छ । त्यसो हुँदा सिनियर टोलीका एसएसपीहरु असन्तुष्ट हुने सम्भावना छ ।
बढुवाको तयारीसँगै बढुवाको लागि एसएपीहरु शक्तिकेन्द्र रिझाउन लागि परेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री लेखकलाई प्रभावमा पार्न विचौलियाहरुको चलखेल बढेको छ ।
