सञ्जय मिश्रा
रौतहट । लाल मणि आचार्य प्रहरी नायब महानिरीक्षक (डिआईजी)मा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख हुँदा उनको कार्यकालमा एक अर्ब भन्दा बढी राजश्व संकलन गर्नुका साथै चौतर्फी उपलब्धी भएको देखिएको छ ।
डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा बिगतको तुलनामा प्रगती बढी भएको हो । यस आर्थिक वर्षको साउन महिनादेखि गत चैत मसान्तसम्म सप्तरीदेखि पर्सा जिल्ला प्रहरी कार्यालय तथा मातहतका युनिटहरुले कुल १ अर्ब १० करोड १८ लाख २० हजार ९३७ रुपैयाँ मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरी भन्सार कार्यालयमा बुझाएको छ ।
जसमध्ये सब भन्दा बढी पर्सा जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्राको सक्रियतामा कुल ४६ करोड ७ लाख ५९ हजार ७३७ रुपैयाँ मूल्य बराबरको अबैध सामान बरामद गरेको प्रदेश प्रहरीको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी ८ जिल्लामध्ये सबैभन्दा कम जिल्ला प्रहरी कार्यालय सिरहा तथा मातहतका युनिटहरुले साेही अवधिमा मात्र १ करोड २९ लाख ६८
हजार ५४ रुपैयाँको अबैध सामान बरामद गरेको देखिन्छ ।
त्यसैगरी अबैध भारतीय सामानको तस्करी गर्ने १९६ जना तस्कर पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुका साथै भन्सार छलीको सामान ओसारपोसार गर्ने ६५९ सवारी साधन बरामद गरीएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
डिआईजी आचार्यको निर्देशनमा प्रदेशको ८ वटै जिल्लामा सञ्चालन गरिएको फरार प्रतिवादी पक्राउ अभियान अन्तर्गत ९ महिनाको अवधिमा अदालतबाट दण्ड सजाय तोकिएर लामो समयदेखि फरार रहेका ३ हजार ९१४ जना लाई पक्राउ गरिएको छ ।
उनीहरूबाट ८ करोड,१० लाख,४३ हजार ४ रुपैयाँ असुल र ६४५ बर्ष १ हजार ३६४ महिना र ४ हजार ५८ दिन कैद भुक्तानीको लागि सम्बन्धित जिल्ला अदालतमा उपस्थित गराइएको मधेश प्रदेश प्रहरी कार्यालय द्वारा उपलब्ध गराइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यस्तै लागुऔषध कारोवार नियन्त्रण अभियान अन्तर्गत प्रदेशको आठै जिल्लास्थित प्रहरीले सोही अवधिमा १२ हजार ५१२ किलो, २० हजार ९०६ ग्राम गाँजा, १८४ किलो ४४५४ ग्राम चरेस, ४४ किलो १७६६ ग्राम ९६० मिलिग्राम अफिम बरामद गरिएको छ ।
त्यस्तै १९ ग्राम ९९९ मिलिग्राम ब्राउन सुगर, २२२५ ग्राम ८३१३ मिलिग्राम हिरोईन, विभिन्न किसिमका प्रतिबन्धित नशालु ट्याबलेट ३ लाख ३ हजार १३८ पिस, २२ हजार ४७१ एम्पुल नशालु इन्जेक्सन र ३ हजार ४२५ फाईल नशालु सिरप बरामद गरिएको छ ।
उक्त लागुऔषध ओसारपसारमा संलग्न ४४१ जना तस्कर माथि मुद्दा दायर गरिएको छ । जसमध्ये सबैभन्दा बढी जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख एसपी सन्तोष तामाङको सक्रियतामा ठूलो परिमाणमा लागुऔषध बरामद गर्नुका साथै १०४ जना तस्करमाथि लागूऔषध सम्बन्धी मुद्दा दायर गरिएको देखिएको छ ।
डिआईजी आचार्यले २०८१ भदौ ५ गते मधेश प्रदेश प्रहरी कार्यालय प्रमुखको रूपमा कार्यभार सम्हालेका थिए । उनी हाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका छन् ।
उनको सरुवापछि मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरको प्रमुख हालसम्म नतोकिए पनी डिआईजी उमा चतुर्वेदी आउने प्रहरीमाझ चर्चा चलेको छ ।
