काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले परिणाममुखी काम गर्न नसके जुनसुकै बेला कमान्डबाट फिर्ता गर्ने चेतावनी दिएका छन् । कमान्डमा जान लागेका बाहिनीपति तथा तालिम शिक्षालयका समादेशकहरुलाई निर्देशन दिँदै उनले यस्तो बताएका हुन् ।
सशस्त्र प्रहरी मुख्यालयमा निर्देशन दिँदै उनले भने, ‘सशस्त्र प्रहरीको वर्दी चम्काउने कार्यलाई धुमिल पार्ने भन्ने जिम्मा तपाईंहरुको हातमा छ त्यसैले संवेदनशील भएर आफ्नो जिम्मेवारी पूरा गर्नुहोस् ।’
महानिरीक्षक अर्यालले मेरो संगठन भनेर काम गर्न, लोभलालचमा नफस्न र संगठनको नीति नियम अनुसार काम गर्न समेत निर्देशन दिए ।
मातहत कर्मचारीले गल्ती गरे सम्बन्धित बाहिनीका बाहिनीपतिहरुलाई कारबाही गर्ने चेतावनी दिँदै महानिरीक्षक अर्यालले बाहिनीदेखि गण, गुल्मसम्मका स्थायी कार्यालयहरुको प्रत्येक ३/३ महिनामा कमान्डको पुनरावलोकन तथा पुनर्मुल्याङ्कन गरिने र त्यसमा कमजोर देखिए कमान्ड हेरफेर तथा फिर्तासम्म गरिने बताए ।
महानिरीक्षक अर्यालले समुदाय लक्षित विपद् स्वयंसेवक तालिम अझ प्रभावकारी रूपमा तत्काल सञ्चालन गर्न नयाँ कल्याणकारी योजना ल्याउन र पुराना कल्याणकारी कार्यलाई निरन्तरता दिन तथा १ महिनाभित्र सबै कमान्डरले आफ्नो कार्ययोजना मुख्यालयमा पठाउनसमेत निर्देशन दिए ।
सो अवसरमा विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू, हालै सरुवा भएर कमान्डमा जान लागेका प्रदेशस्थित बाहिनी मुख्यालयका बाहिनीपतिहरु तथा शिक्षालयका समादेशकहरुको उपस्थिति रहेको थियो ।
