काठमाडौं । राजनीतिक हस्तक्षेपबाट प्रहरी संगठनलाई जोगाउने भन्दै हालै स्वीकृत भएको सरुवा सम्बन्धी नयाँ मापदण्डको प्रहरी नेतृत्वबाटै खिल्ली उडाइएको छ ।
सोमबार प्रहरी प्रधान कार्यालयले ६३ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । सरुवा गरेकामध्ये एसपी राजन लिम्बुको झापा सरुवा भएको छ । उनलाई मापदण्डविपरीत जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी दिइएको हो ।
विगत तीन महिनादेखि चितवन प्रहरी प्रमुखका रुपमा कार्यरत एसपी लिम्बुलाई झापा प्रहरी प्रमुख बनाएर पठाइएपछि मापदण्डको औचित्य सकिएको हो । सामान्यतया प्रहरीमा यस्तो सरुवा हुँदैन । लिम्बु प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्वपिएसओ भएकाले यो बिशेष अवसर पाएका हुन् ।
प्रधानमन्त्री ओलीकै दबाबमा नियम मिचेर उनलाई ‘क’ वर्गको चितवनबाट ‘क’ वर्गकै झापा पठाइएको हो । शक्तिकेन्द्रको दबाबसामु प्रहरी महानिरीक्षक दिपक थापाको समेत केही नचलेपछि लिम्बू झापा जान सफल भएको प्रहरी वृत्तमा चर्चा छ ।
लिम्बुको ठाउँ चितवनमा एसपी गोविन्द पुरीको सरुवा भएको छ ।
यसरी संगठन प्रमुख थापाले शक्तिकेन्द्रको दबाब थेग्न नसकेपछि यतिबेला प्रहरी संगठनभित्र लागू भएको भनिएको मापदण्ड मजाकको विषय बनेको छ । प्रहरी अतिरिक्त महानिरीक्षक हुँदा थापा आफैले सरुवा मापदण्ड लागू गर्नपर्ने भन्दै कस्सिएका थिए ।
त्यसपछि २०८० साउन ३२ गते ‘सिनियर प्रहरी अधिकृतको सरुवासम्बन्धी मापदण्ड २०७९’ मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएको थियो । तर, अहिले आफूले बनाएको सरुवा सम्बन्धी मापदण्डलाई लत्याउदै थापाले प्रहरी उपरीक्षकको सरुवा गरेका छन् ।
त्यतिमात्र नभएर प्रहरीको सरुवासम्बन्धि कार्यविधिमा सामान्यतया बढुवाको ६ महिनासम्म इन्चार्ज नपठाउने र पठाउनै परे ‘ग’ वर्गका कार्यालयमा पठाउने उल्लेख छ । तर, कार्यविधिविपरीत केही एसपीहरुलाई ‘ख’ वर्गका कार्यालयमा पठाएको पाइएको छ ।
बढुवाको दुई महिनामै पवन भट्टराईलाई पाल्पा, दधिराम न्यौपानेलाई स्याङजा, शरद थापा क्षेत्री धनकुटा, लालध्वज सुवेदीलाई सिन्धुली, तिलक भारतीलाई बाग्लुङ तथा दानबहादुर थापालाई गण्डकी ट्राफिक इन्चार्ज बनाएर पठाइएको हो ।
आफैले बनाएको मापदण्ड मिचेर गरिएको सरुवाले प्रहरीको शाख कमजोर बनाएको छ । मापदण्डविपरीत भएका सरुवामा प्रहरी महानिरीक्षक थापादेखि गृहमन्त्री रमेश लेखकमाथि नैतिक प्रश्नसमेत उठेको छ । तर यसरी भएको सरुवामा राजनीतिक दबाब र नेताहरुको शक्ति प्रदर्शनले मुख्य भूमिका खेलेको छ ।
प्रहरी सरुवाका विषयमा वर्षौँदेखि नियम मिच्ने क्रम चलिरहेको हो । हालै मात्र महानिरीक्षक थापाले एक टिभी अन्तर्वार्तामा अब सोर्सफोर्स वा दबाबका आधारमा सरुवा/बढुवा नहुने बताएका थिए । तर स्वयम् थापा नै चरम दबाबमा परेपछि प्रहरीको सरुवा सम्बन्धी मापदण्डले हावा खाएको छ ।
