काठमाडौं । गत हप्ता ६ जना नायब महानिरीक्षक (डिआईजी) प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा सिफारिस भएका छन् । जसमा कोशी प्रदेश, मधेस प्रदेश, बागमति प्रदेश र लुम्बिनी प्रदेश प्रहरी प्रमुख डिआईजीहरु पनि परेका छन् ।
अब बस्ने मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गर्नेछ । एआईजीमा बढुवा भएसँगै उनीहरुलाई अबको १,२ दिनमै दरज्यानी चिन्ह प्रदान गरिनेछ र प्रदेश छाड्नेछन् । त्यसपछि उक्त प्रदेशहरु डिआईजीविहीन हुनेछ ।
मधेस प्रदेशका प्रहरी प्रमुख लालमणि आचार्य, बागमतीका प्रहरी प्रमुख कृष्णहरि शर्मा पोखरेल, लुम्बिनीका प्रहरी प्रमुख दानबहादुर कार्की र कोसीका प्रहरी प्रमुख राजन अधिकारी एआईजीमा सिफारिस भएका छन् ।
त्यस्तै गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश प्रहरी पनि नेतृत्वविहीन नै छ । तीनवटै प्रदेशका डीआईजीहरु ४ चैत २०८१ मा ३० वर्षे सेवा अवधिका कारण अनिवार्य अवकाशमा गएका थिए । उनीहरु अवकाशमा गएको ३७ दिन बितिसक्दा पनि प्रहरी प्रधान कार्यालयले त्यहाँ डिआईजी पठाउन सकिरहेको छैन ।
सातवटै प्रदेश डिआईजीविहिन हुने भएपछि गृह मन्त्रालयले डिआईजीहरुको सरुवाको तयारी गरेको छ । डिआईजीको सरुवा मन्त्रीस्तरीय निर्णयबाट हुने गर्छ । डिआईजी सरुवाका लागि शक्ति केन्द्रमा धाएर आकर्षक ठाउँमा जान दौडधुप चलेको छ ।
सरुवाको तयारीसँगै सबैभन्दा आकर्षक ठाउँमा जान केही डिआईजीहरु शक्तिकेन्द्र रिझाउन लागि परेका छन् भने प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा र गृहमन्त्री रमेश लेखकलाई प्रभावमा पार्न विचौलियाहरुको चलखेल बढेको छ ।
सरुवाको चर्चा हुनासाथ सबैभन्दा बढी दबाब मधेश प्रदेश, त्यसपछि लुम्बिनी र कोशीको डिआईजीका लागि पर्ने गरेको छ । हाल प्रहरीमा एआईजी बढुवामा सिफारिस परेकाबाहेक १० जना मात्रै डिआईजी कार्यरत छन् । संगठनमा २० डिआईजीको दरबन्दी भएपनि १० वटै पद रिक्त छ ।
त्यसैले कार्यरत ती १० जनामध्ये बाटै प्रदेशमा पठाउने गृहको तयारी छ । प्रदेश प्रमुखको दाबेदारका रुपमा सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर विक, ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेशकुमार आचार्य, अरुण पौडेल र गोविन्द थपलिया रहेका छन् ।
कोशी प्रदेशमा प्रदेश समन्वय विभागमा कार्यरत डिआईजी गोविन्द थपलियाले जान जोडबल गरिरहेका छन् । उनी नेकपा एमालेनिकट नेताहरुलाई भनसुन गरेर त्यहाँ जान खोजेका हुन् ।
यस्तै मधेश प्रदेशको डिआईजीका लागि अन्वेषण योजना तथा विकास निर्देशनालयका कार्कीले चर्को दौडधुप गरिरहेका छन् । यद्यपी, त्यहाँ नभए डिआईजी कार्की बागमति प्रदेश भने पनि जाने गरी अड्डी कसेर बसेका छन् ।
तर, हिमालय कुमार श्रेष्ठको पनि बागमति प्रदेशमा चर्चा छ । यस्तै गण्डकी प्रदेशमा अपराध अनुसन्धान विभागमा कार्यरत अरुण पौडेलको नाम चर्चामा छ । कांग्रेस नेताहरुको जोडबलमा उनी त्यहाँ जान लागेका हुन् ।
यसैगरी लुम्बिनीमा राजेन्द्र भट्ट जोडबल गरेका छन् । कांग्रेसका केही नेताहरुसँग राम्रो उठबस रहेका उनी जसरी पनि लुम्बिनी जाने दाउमा छन् । त्यस्तै प्रहरी प्रवक्ता रहेका डिआईजी आचार्य समेत लुम्बिनी प्रदेश ताकिरहेका छन् ।
यसरी डिआईजीहरु आफूअनुकुलका नेताहरु लिएर सरुवाको लागि दौडधुप गरिरहेका छन् ।
त्यसैगरी अति नै विकट मानिएको कर्णाली र सुदूरपश्चिम प्रदेशमा कोही पनि जान रुचाउँदैनन् । तर, त्यहाँ डिआईजी डम्बर विक र हिमालय श्रेष्ठको नाम चर्चामा छ ।
त्यसैगरी एआईजी बढुवामा छुटेका शाह, राठौर र चतुर्वेदी पनि राम्रो प्रदेश जान खोजिरहेका छन् । तर, उनीहरुले कुनै नेताको चाकडी नगरेका कारण प्रदेश प्रमुख हुनबाट समेत वञ्चित हुनसक्छन् ।
तर, गृहमन्त्री लेखक र प्रहरी महानिरीक्षक दिपक थापाले अहिलेको एआईजी बढुवामा नपरेका डिआईजीहरुलाई रोजेको प्रदेश दिनेगरी सरुवाको तयारी गरेका छन् । जसको गर्दा उनीहरुलाई समेत केही हदसम्मको न्याय हुने भएकाले त्यसो गर्न खोजिएको स्रोत बताउँछ ।
गृहमन्त्री लेखकले डिआईजीहरुको सरुवाको विषयमा आईजीपी थापा र गृहसचिव गोकर्णमणि दुवाडीसँग एक चरणमा छलफल गरिसकेका छन् ।
