काठमाडौं । सशस्त्र प्रहरी बलका ११ जना नायब महानिरीक्षक (डिआईजी) हरूको सरुवा भएको छ । गृह मन्त्रालयले बिहीबार ६ प्रदेशका प्रमुखसहित विभिन्न जिम्मेवारीमा रहेका उच्च अधिकारीहरूको सरुवा गरेको हो ।
हाल सशस्त्र प्रहरी बलका प्रवक्ता रहेका डिआईजी कुमार न्यौपानेलाई कोशी प्रदेशअन्तर्गतको बराह बाहिनीमा सरुवा गरिएको छ । यसअघि बराह बाहिनीको जिम्मेवारी सम्हालेका शम्भु सुवेदीलाई स्टाफ कलेजमा पठाइएको छ ।
यसैगरी, मधेस प्रदेशको छिन्नमस्ता बाहिनीमा डिआईजी कृष्ण ढकाल, बागमती प्रदेशको गढिमाई बाहिनीमा अन्जनी पोखरेल, गण्डकी प्रदेशको मुक्तिनाथ बाहिनीमा दिपेन्द्र साह र लुम्बिनी प्रदेशको विन्दाबासिनी बाहिनीमा दिपेन्द्र कुँवरलाई सरुवा गरिएको छ ।
कर्णाली प्रदेशका प्रमुख विष्णु भट्ट भने हाल कंगो मिसनमा रहेकाले उनको सरुवा गरिएको छैन । सुदूरपश्चिम प्रदेशको वैद्यनाथ बाहिनीमा भने डिआईजी प्रदीप पाल सरुवा भएका छन्।
छिन्नमस्ता बाहिनीबाट कालिदास धौवजीलाई प्रहरी महानिरीक्षकको सचिवालयमा ल्याइएको छ । अब सशस्त्र प्रहरी बलको प्रवक्ताको जिम्मेवारी पनि धौवजीले सम्हाल्ने भएका छन् ।
त्यस्तै, गढिमाई बाहिनीबाट सरुवा भएका गणेश ठाडा मगरलाई कार्यविभागमा, मुक्तिनाथ बाहिनीबाट कुलबहादुर नेम्वाङलाई मानवस्रोत विभागमा र विन्दाबासिनी बाहिनीबाट प्रदिपपाललाई वैद्यनाथ बाहिनीमा सरुवा गरिएको छ ।
वैद्यनाथ बाहिनीमा कार्यरत दीपक अधिकारीलाई पनि मानवस्रोत विभागमै सरुवा गरिएको छ ।
