काठमाडौं । दिपक थापा हालका प्रहरी महानिरीक्षक हुन् । दिपकको अर्थ हो प्रकाश वा उज्यालो । त्यसैले अहिले प्रहरीभित्र एउटा ‘उज्यालो समय’ उदय भएको दाबी गर्नेहरू पनि कमी छैनन् ।
उनले नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेपछि आलोचना वा समर्थन जे देखिए पनि आन्तरिक परिवर्तनका लागि संगठनभित्र भने ‘उज्यालो समय’का रूपमा भने चर्चा पाउन थालेको हो ।
महानिरीक्षक थापाले करिब ८० हजार फौज रहेको नेपाल प्रहरी संगठनको नेतृत्व सम्हालेको आज ३७ दिन पूरा भएको छ । सरकारले थापालाई ४ चैत २०८१ मा नियुक्त गरेको हो ।
नेतृत्वमा थापा आएपछि प्रहरी संगठनभित्रको समस्याहरुलाई के गर्लान् भनेर लेखाजोखा हुन थालेको छ । प्रहरी महानिरीक्षक (आईजीपी) थापालाई प्रहरी संगठनभित्र ‘रोल मोडल’का रूपमा चित्रण गर्न थालिएको छ ।
विगतदेखि नै चिन्नेहरुले नामले होइन, आफ्नो इमान्दार कामको चर्चा र निडरपनाले सबैको नजरमा राम्रो छन् आईजीपी थापा । संगठनभित्र मौलाएको राजनीतिकरणलाई उनले केही अगाडि भएको अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवामार्फत सन्देश दिन खोजेका छन् ।
त्यसैले थापालाई पछिल्लो एक महिनाको समयमा नै आमजनता र प्रहरीभित्रै केही सुधारकका रूपमा चर्चा गर्न थालिएको छ । नेपाल पूर्वप्रहरी संगठनका संरक्षकदेखि पदाधिकारीहरूले आईजीपी थापाको छोटो कार्यकाल पनि ‘ऐतिहासिक र अतुलनीय’ हुने निश्कर्ष निकालेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा होस् वा विभिन्न जिल्ला, प्रदेश प्रहरी प्रमुख र विभागहरुको जिम्मेवारी सम्हाल्दा थापाले संगठित रूपमा हुने अपराध रोक्न चालेको कदमका कारण पनि अहिले उनी चर्चाको केन्द्रमा रहनुको कारण मानिने गरेको छ ।
त्यसैगरी थापा प्रहरी संगठनमा कार्यरत तल्ला दर्जाका प्रहरी कर्मचारीहरुको समस्या समाधानको लागि निरन्तर लागि परिरहने अधिकृत हुन् । आफ्नो कार्यकालमा सिपाही हवल्दारको पेन्सनअवधी १६ बनाउन आफू लागिपर्ने थापा स्वयम् बताउँछन् ।
यस्तै आईजी थापाले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख हुँदा ठूला ठूला घटनामा सफलता हात पारे । त्यस्तै उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुख हुँदा समेत शान्त र भयरहित तरिकाले आफ्नो कार्यकाल पूरा गरी त्यहाँबाट विदाई भए । जसको कारण जनताको सोचमा प्रहरीप्रति सकारात्मक सन्देश प्रवाह भएको थियो ।
नेपाल प्रहरी सबैभन्दा धेरै युनिट भएको जनतासँग प्रत्यक्ष दैनिक जोडिने सरकारी कार्यालय हो । जनताको सुखदुःखको साथी, आपतविपत होस् वा खुसियाली, बर्दीका प्रहरीको अनुपस्थितिमा राज्यविहीनताको अनुभूति हुन्छ ।
प्रहरीसँगको जनसहभागिताले अपराध नियन्त्रण र अनुसन्धानमा उल्लेख्य योगदान पुर्याउँदै आएको छ । प्रहरीको अठोट नै अपराध नियन्त्रण गर्नु हो । संगठनले दिएको जिम्मेवारीलाई कर्तव्यका रूपमा पूरा गर्नु र राज्यले दिएको अधिकार नै प्रहरीको शक्ति हो ।
संगठनको नीतिगत अस्पष्टतालाई उनले आफ्नो कार्यकालमा स्पष्ट रुपमा देखाउन खोजिरहेका छन् । त्यस्तै प्रहरी प्रधान कार्यालयले गर्ने सरुवा/बढुवामा बनाइएको स्पष्ट मापदण्ड कार्यान्यवनमा उनी लागेका छन् । जसले गर्दा आईजी थापा संगठनमा सिस्टम बसाल्न लागिपरेको बुझिन्छ ।
