काठमाडौं । ३ दिनदेखि सम्पर्कविहीन चितवनका शिक्षक ओमराज मैनाली मृत भेटिएका छन् । उनी देवघाटस्थित नदी जलमापन केन्द्र नजिकै आज साँझ ५ः४० बजे मृत भेटिएका हुन् ।
सम्पर्कबिहिनपछि उनको खोजी तीब्र पारिएको थियो । पछिल्लो समय उनी भरतपुर महानगरपालिका-२ स्थित न्यू होराइजन इङ्लिस स्कुलमा प्राचार्य थिए । न्यू होराइजनमा मैनालीले केही दिन मात्र काम गरेका हुन् ।
त्यसअघि मैनाली भरतपुरको अंकुरम एकेडेमीमा सहायक प्राचार्यको रुपमा कार्यरत थिए ।
उनी ८ वैशाख साँझ ७ः३० बजे घरबाट निस्किएका थिए । राती ८ः३० बजेदेखि उनको मोबाइल अफ भएको थियो भने मोटरसाइकल देवघाटको पुल छेउमा फेला परेको थियो ।
मोटरसाइकलका आधारमा प्रहरीले नारायणी किनार क्षेत्रमा खोजी तीव्र पारेको थियो । सोही क्रममा उनको शव बुधबार भेटिएको हो । हाल उनको शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
