काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले तीन महिनामा काम काजको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय बारामा प्रमुखको रुपमा प्रहरी उपरीक्षक सन्तोष तामाङ आएसँगै माघ १८ गतेदेखि यता उल्लेखनीय प्रगति गरेको छ ।
एसपी तामाङ आएको दिनदेखि सिमानाका हुने तस्करीमा कडाई गरि करिब ६ करोड ५ लाख १४ हजार ६५७ रुपैयाँ बराबरको पक्राउ गरि वीरगन्ज भन्सार कार्यालयमा बुझाएको बारा प्रहरीले जनाएको छ ।
बारा प्रहरीले ३ महिनाको अवधिमा ७६ जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरि १७ लाख ९९ हजार आठ सय रुपैयाँ जरिवाना असूली गरेको बारा प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक तामाङले बताए ।
एसपी तामाङको यस अवधिको कार्यकाललमा जिल्ला प्रहरी कार्यालय बाराको अपराध अनुसन्धान शाखामा दुई सय ९९ मुद्दा दर्ता गरिएकोमा एक सय २४ वटा मुद्दा फस्र्यौट गरेको छ । फस्र्यौट गर्न बाँकी मुद्दा एक सय ७५ वटा रहेको छ । लागु औषधमा ४१ मुद्दा दर्ता गरिएकोमा ४ वटा मुद्दा फस्र्यौट गरिएको छ ।
उक्त महिनामा उजुरी शाखामा ६ सय पाँच निवेदन परेकोमा ४ सय ५६ उजुरी फस्र्यौट गरिएको छ । घरेलु हिंसाको १ सय ६८ वटा उजुरी परेकोमा १ सय ३६ वटा फस्र्यौट भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ ।
यसरी नै महिला तथा बालबालिका शाखामा ६१ जना मध्ये २५ जना फेला परेको ३६ जना बाँकी रहेको छ । बारा प्रहरीले तीन महिनाको अवधिमा ११ क्विन्टल नौ किलो छ सय २१ ग्राम गाँजा समेत बरामद गरेको छ ।
त्यसतै अफिम ४५ किलो पाँच सय ७१ ग्राम, ब्राउन सुगर ३२८.९ मि.ग्रा. चरेश ११ किलो छ सय ८० ग्राम प्रहरीले बरामद गरेको छ । यस्तै लागूऔषधमा ५६ पुरुष र तीन महिला गरी ५९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यस्तै ६ जना बालिका र ७ जना बाल गरि १३ जनाको उद्दार गरेको प्रहरीले जनाएको छ ।
