काठमाडौं । प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६१ जनामध्ये ६० जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)ले दर्ज्यानी पाएका छन् ।
प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार आयोजित समारोहमा उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरे ।
दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवं सामूहिक भावनाका साथ कार्यसम्पादन गर्न उनले निर्देशन दिए ।
समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक सुदीप थापाले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि संगठनले अंगिकार गरेको उद्देश्य र लक्ष्य प्राप्तिका लागि प्राप्त जिम्मेवारी मन, वचन र कर्मले निष्ठापूर्वक वहन गर्ने प्रतिवद्धता व्यक्त गरे ।
गृह मन्त्रालयले मंगलबार उनीहरूलाई बढुवाको निर्णय गरेको थियो ।
