काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ । उनको ९७ वर्षको उमेरमा निधन भएको हो ।
थापाले वि.सं. २०३५ जेठदेखि २०३९ जेठसम्म प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेका थिए । थापाको आजै दिउँसो अन्तिम संस्कार गरिएको छ ।
अन्तिम संस्कारमा उनलाई नेपाल प्रहरीले सलामी अर्पण गरेको थियो । उक्त अन्त्येष्टी कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापा र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याललगायतले सिनियर प्रहरी अधिकृतहरुले नेपाल प्रहरीको झण्डा ओढाई सम्मान व्यक्त गरेका थिए ।
उनको कार्यकालमा नेपाल प्रहरीमा महत्त्वपूर्ण सुधार र नवीन पहलहरू भए । २०३५ सालमा उनले प्रहरी महानिरीक्षकको कार्यभार सम्हालेपछि उनकै अग्रसरतामा निर्मित आईजीपी निवास, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गण आदिको स्थापना उल्लेखनीय छन् ।
पहलहरूले नेपाल प्रहरीको व्यावसायिकता र प्रभावकारिता बढाउन महत्त्वपूर्ण योगदान पुर्यायो ।
वि.सं. २०२४ मा प्रहरी उपरीक्षक (एसपी) को रूपमा उनले जापानको क्योटोमा आयोजित इन्टरपोलको ३६औँ महासभामा नेपाल प्रहरीको प्रतिनिधित्व गरेका थिए, जसले नेपाललाई इन्टरपोलको १००औँ सदस्य राष्ट्र बनाउन भूमिका खेलेको थियो ।
सन् १९५६/५७ मा उनले भारतको माउन्ट आबुस्थित सेन्ट्रल पुलिस ट्रेनिङ कलेजमा भारतीय प्रहरी सेवा (आईपीएस) तालिम लिएका थिए । उनले वि.सं. २०२४ चैतदेखि २०२८ फागुनसम्म सदर प्रहरी तालिम केन्द्र (हालको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) को कमान्डेन्टको जिम्मेवारी सम्हालेका थिए ।
वि.सं. २०३३ वैशाख २१ देखि २०३५ वैशाख ५ सम्म उनले पश्चिम क्षेत्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को रूपमा नेपालगन्जमा कार्य गरे । उनको नेतृत्वमा प्रहरी सेवालाई अनुशासित र जनमुखी बनाउन विभिन्न सुधारका कार्यक्रमहरू लागू गरिएको थियो ।
सन् २०१३ मा पूर्व प्रहरी महानिरीक्षक थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए ।
