काठमाडौ ९ बैशाख।रौतहट प्रहरीले स्रोत नखुलेको रकमसहित एकजनालाई पक्राउ गरेको हो।
प्रहरीको टोलीले भारत बिहार मोतिहारी जिल्लाको कुन्डवा चैनपुर ग्राम पंचायत घर भएका २१ वर्षीय राज किशोर ठाकुरलाई नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता दीपककुमार रायले बताए ।
मौलापुर नगरपालिका वडा नम्बर– ६ स्थित परशुरामपुर सडकखण्ड नजिकै जाँचको क्रममा भारतबाट अवैध रूपमा भित्रिएको ठूलो रकमसहित आइतबार एक भारतीय नागरिकलाई पक्राउ गरेको हो । उनका अनुसार पक्राउ ठाकुरको साथबाट ८ लाख भारतीय रुपैयाँ फेला परेको छ । साथै उनको साथबाट बीआर ०५ एसी ९४७७ नम्बरको मोटरसाइकलसमेत बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५०० रुपैयाँ दरका ६ लाख, २ सय रुपैयाँ दरका १ लाख र १ सय रुपैयाँ दरका १ लाख भारतीय रुपैयाँ बरामद भएको छ । बरामद रकमको कुनै स्रोत खुलाउन नसकेपछि ठाकुरलाई आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय, रौतहटले जनाएको छ । नेपाल–भारत सीमावर्ती क्षेत्रमा अवैध कारोबार नियन्त्रण गर्न सुरक्षाकर्मीहरू कडा निगरानीमा जुटिरहेको प्रहरी दाबी छ ।
प्रहरीले हाल पक्राउ परेका व्यक्तिको पृष्ठभूमि, रकमको स्रोत र नेपालमा भित्र्याउने उद्देश्यबारे गहिरो अनुसन्धान सुरु गरेको छ । सीमावर्ती क्षेत्रहरूमा अवैध रकमको कारोबार, सुन तस्करी, लागूऔषध ओसारपसार जस्ता गतिविधि बढिरहेको बेला यस घटनाले सुरक्षासंस्था थप सतर्क हुनुपर्ने संकेत गरेको छ । यस घटनालाई प्रहरी प्रशासनले अत्यन्त संवेदनशील मान्दै भित्री संजालमा समेत छानबिन सुरु गर्ने तयारी गरेको बताइएको छ ।
