काठमाडौं । आइतबार प्रहरी जवानको लिखित परीक्षामा सहभागी ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं नयाँबानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयमा अर्कैको नाममा परीक्षा दिएको आरोपमा शनिबार उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरूमा दोलखाका मोहन सुनुवार, कालिकोटका गोपाल शाही, सुर्खेतका मनोज शर्मा, दैलेखका आकाश खड्का, सुर्खेतका उमेश शर्मा र जुम्लाका मीन रावल छन् ।
पक्राउ परेकामध्ये एकजना नेकपा एमाले निकट अनेरास्ववियुबाट स्ववियु चुनाव जितेका व्यक्ति रहेको खुलेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार गोपाल शाही काठमाडौँको अमृत साइन्स (अस्कल) क्याम्पसका निर्वाचित स्ववियु सचिव हुन् ।
उनी गत चैत १० गते भएको स्ववियु निर्वाचनमा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) बाट सचिव पदमा विजयी भएका थिए ।
अस्कलका सचिव शाही भने यसअघि गत माघ २४ गते राति ठमेलमा ड्युटीमा खटिएका दुई जना प्रहरीमाथि भएको कुटपिटमा पनि संलग्न थिए । सो घटनामा उनले पछि प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए ।
उनीहरूविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप अनुमति लिएर प्रहरीले अनुसन्धान थालेको छ ।
