काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता एवं प्रतिनिधि सभा सदस्य दीपक बहादुर सिंहले राष्ट्र र जनताको लागि आफूहरु गोली थाप्न पनि तयार रहेको बताएका छन् ।
राप्रपा संसदीय दलको कार्यालय परिसरबाट पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन, उपाध्यक्ष बुद्धिमान तामाङ, प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिँदा सँगै रहेका नेता सिंह उम्किएर आन्दोलन स्थलमा पुगेका थिए ।
उनले राप्रपा शान्ति, सनातन हिन्दु राष्ट्र र राजासहितको प्रजातन्त्र चाहेको बताए ।
‘हामीले जनताको आवाज बोलिरहेका छौं । यिनीहरुले जतिसुकै धरपकड गरोस्, हामी डक्नेवाला छैनौं । राप्रपाका लागि सबैभन्दा पहिला राष्ट्र हुन्छ, त्यो पछि जनता हुन्छ । राष्ट्र र जनताको लागि जेल जान त परै जाओस्, गोली थाप्न पनि हामी तयार छौं,’– उनले भने ।
सरकारले काठमाडौंमा सिंहदरबार, संसद् भवन रहेको स्थान, नारायणहिटी संग्राहलय, उपराष्ट्रपति निवास, राष्ट्रपति निवास र प्रधानमन्त्री निवास वरपरका क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
निषेधित क्षेत्र घोषणा गरिएको सिंहदरबारभित्रै प्रदर्शन गरेपछि प्रहरीले लिङ्देनलगायतलाई नियन्त्रणमा लिएको हो । अहिले उनीहरुलाई जिल्ला प्रहरी परिसर, काठमाडौंमा राखिएको छ