काठमाडौं । आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राजतन्त्र र हिन्दु राष्ट्रको माग गर्दै काठमाडौंमा निषेधाज्ञा तोड्ने भएको छ ।
राप्रपाले गत साता भएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकको निर्णय अनुसार काठमाडौंमा निषेधित क्षेत्र तोड्ने भएको हो ।
गत चैत १५ गते भएको प्रदर्शनमा हिंसात्मक भएपछि सरकारले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणालगायतलाई पक्राउ गरेको तथा उनीहरूको रिहाइको मागसहित राप्रपाले काठमाडौंमा निषेधित क्षेत्र तोड्न लागेको हो ।
राप्रपाले राजतन्त्र पुनः स्थापनाको माग राखेर चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा पनि गरेको छ ।
तर, गृह मन्त्रालयले समाजमा हिंसा फैलाउने कुनै पनि अराजक, उत्तेजक र गैरकानुनी क्रियाकलापमा संलग्न नहुन सबैमा अनुरोध गरेको छ ।
मन्त्रालयले राप्रपाका नामबाट आइतबार प्रचलित कानुनबमोजिम तोकिएका निषेधित क्षेत्र तोड्ने भनी सार्वजनिक भएका समाचार र अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
यसअघि बल्खुमा चैत २६ मा राप्रपाले र त्यसअघि चैत १५ मा तिनकुनेमा राजवादीहरुले प्रदर्शन गरेका थिए ।
