काठमाडौं । वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा रहेका श्रीमान् प्रेम बहादुर बुढाथोकीकै योजनामा हत्या गरिएकी ३४ वर्षीया चुनुकुमारी दाहाल बुढाथोकीको हत्यामा संलग्न ६ जनालाई बिहीबार प्रहरीले इलाका प्रहरी कार्यालय धरानमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
सार्वजनिक गरिएका चुनकुमारीका श्रीमान् बुढाथोकीलाई नेपाल प्रहरीले कोरियाबाट वैशाख ३ गते नेपाल झिकाई अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट पक्राउ गरेको थियो । उनलाई बिहीबार नै विराटनगरबाट सुनसरी जिल्ला अदालतमा म्याद थप गरी सार्वजनिक गरिएको हो ।
हत्यामा संलग्न योजनाकारका भाइ ढकेन्द्र बुढाथोकी, बुहारी सृष्टि बुढाथोकी, कान्छा ज्वाइँ योगेन्द्र गौतम, कान्छी बहिनी डेनु गौतम, सहयोगी केशवराज दाहाललाई प्रहरी सार्वजनिक गरेको छ । हत्यामा संलग्न फुपूका छोरा भारतीय नागरिक राजु थापा भने फरार छन् ।
पत्रकार सम्मेलनमा सुनसरी प्रहरी प्रमुख एसपी सुमन तिम्सिनाले चुनुकुमारी हत्याको मूल कारण श्रीमान् श्रीमती बिचको मनमुटाबले डिभोर्स दिन नमान्दा सुनियोजित रूपमा भएको देखिएको बताए । हत्याको मुख्य योजनाकार कोरियामा रहेका मृतककै श्रीमान् रहेको उनले बताए ।
एसपी तिम्सिनाकाअनुसार श्रीमान् बुढाथोकीले परपुरुषसँग लागेको भन्दै श्रीमतीलाई जबरजस्ती डिभोर्स दिन खोजेका थिए । तर श्रीमतीले डिभोर्स नदिएपछि उनको हत्या गर्ने योजना उनकै श्रीमानले बनाएको खुलेको हो । एसपी तिम्सिनाले भने, ‘डिभोर्स नदिएपछि बुढाथोकीको परिवार मिलेर योजनाबद्ध रूपमा हत्या गरिएको हो ।’
००००
चुनुकुमारीलाई ज्वाँई नाता पर्ने योगेन्द्र गौतमले स्कुटर सिकाउने भन्दै प्रस्ताव गरेपछि चुनुकुमारीले कोरियामा रहेका श्रीमानसँग सोधिन्, श्रीमानले जवाफमा जाऊ भने ।
चुनुकुमारीको विश्वासिलो पात्रको रूपमा रहेका ज्वाइँले घुम्न जाने प्रस्ताव गरेपछि ज्वाइँ योगेन्द्रसँग घुम्न गएकी चुनुकुमारीलाई बाटो भुलेको भन्दै झुक्याएर धरानको जंगल पुर्याइयो ।
‘जंगलमा पुग्नासाथ उनको घाँटीमा झोलाको फित्ताले बाँधिन्छ । त्यसपछि अत्यधिक कुटपिट गरेको देखिन्छ,’ एसपी तिम्सिनाले भने, ‘कुटपिट गर्दा करङ नै भाँचिदिएको र पछि घिस्राउँदै रुखको फेदमा बाँधी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’
मृतक चुनकुमारीको शव धरान-६ पञ्चकन्या जङ्गलमा गत सोमवार अर्धनग्न अवस्थामा प्रहरीले फेला पारेको थियो ।
हत्यामा संलग्न चुनकुमारीको देवर, देवरानी, नन्द र एक सहयोगीलाई झापा र मोरङबाट पक्राउ गरिएको हो । प्रहरीले घटनामा प्रयोग गरिएको ३ वटा मोटरसाइकल बरामद समेत भएको छ ।
तर, घटनामा संलग्न फरार एक भारतीय नागरिकको खोजी तीव्र बनाएको एसपी तिम्सिनाले बताए । प्रारम्भिक अनुसन्धानबाट उक्त भारतीय नागरिकलाई आर्थिक प्रलोभन देखाई योजनामा संलग्न भएको आशंका गरिएको छ ।
