काठमाडौं । सरकारले नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाको सुरक्षामा खटिएको सशस्त्र प्रहरीको पुरै टोली परिवर्तन गरेको छ । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर सुरज बस्नेत नेतृत्वको टोली हटाइएको स्रोतले जानकारी दिएको छ।
स्रोतका अनुसार एकजना सिपाहीबाहेक करिब २५ जनाको टोलीलाई हलचोक फिर्ता गरेर नयाँ टोली पठाइएको हो । सशस्त्र प्रहरी स्रोतका अनुसार, त्यहाँ अर्थात् देउवाको सुरक्षामा अर्का इन्स्पेक्टरको कमाण्डमा नयाँ टोली परिचालन गरिएको छ ।
यसअघि कमान्डर मात्रै फेरिन्थे । तर, पहिलोपटक तलैसम्मको सेट फेरिएको हो । एकजनाले गल्ती गरे उसलाई जिम्मेवार बनाउनुपर्नेमा बूढानीलकण्ठले सशस्त्रको सेटै फेरेको हो । सशस्त्रले यो कदमलाई नियमित वा आकस्मिक केही भनेको छैन ।
विशेषगरी भीभीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीले उनीहरूको निगरानीको सूचना अन्यत्र चुहाएपछि हेरफेर गर्नुपरेको उच्च सुरक्षा स्रोतले जानकारी दियो ।
यसअघि चैत १५ मा भएको राजावादीको हिंसात्मक प्रदर्शनपछि पूर्वराजा ज्ञानेन्द्र शाहको सुरक्षाकर्मी कटौती गर्नुको साथै सेट नै परिवर्तन गरिएको थियो । सशस्त्र प्रहरीले पूर्वराजाका १० जना सुरक्षाकर्मीलाई फिर्ता बोलाएको थियो ।
