काठमाडौं । मुख्यतया दुईवटा कसुरमा प्रहरीहरू बर्सेनि कारबाहीमा पर्ने गरेका छन् । प्रहरी कारबाहीमा पर्नुको मुख्य कारण सर्वसाधारणलाई दुःख दिने काम र आर्थिक अनियमितता हो ।
प्रहरी प्रधान कार्यालयका अनुसार पछिल्लो तीन वर्षमा ६ हजार २ सय ७१ जना प्रहरीलाई विभागीय कारबाही गरिएको छ । उनीहरुलाई प्रहरी नियमावली २०७१ नियम १०९ देखि ११३ सम्मका सजायहरूमा परेर नसिहत, गेड रोक्का, प्रतिकूल राय, ग्रेड घटुवा, पदोन्नति रोक्का, पद घटुवा, तल्लो टाइममा घटुवा र निलम्वन गरिएको हो ।
यस आर्थिक वर्षको चैतसम्म एक हजार ५ सय ३८ जना प्रहरी विभागीय कारबाहीमा परेको प्रहरी प्रधान कार्यालयको तथ्यांकमा छ । त्यस्तै आर्थिक वर्ष २०७८/०८९ मा १ हजार ८ सय ६० जना, २०७९/०८० मा २ हजार २४ जना र २०८०/०८१ मा २ हजार ३ सय ८७ जना रहेका छन् ।
त्यस्तै पछिल्लो तीन वर्षको पिरियडमा ८ सय ४१ जना प्रहरी कर्मचारीलाई जागिरबाट हटाइएको कार्यालयको तथ्यांकमा उल्लेख छ भने यो आर्थिक वर्षमा २३० प्रहरी कर्मचारीलाई जागिरबाट हटाइसकिएको छ ।
माथिको तथ्यांक हेर्दा मुख्तयः सर्वसाधारणलाई दुःख दिने र आर्थिक अनियमिततामा परी धेरै प्रहरी कर्मचारी कारबाहीको सिकार भएका छन् । यस्तै महिला सहकर्मीमाथिको दुर्व्यवहार अलि कम नै रहेको प्रधान कार्यालय बताउँछ ।
यसरी हेर्दा कारबाहीमा पर्नेमा तल्लो तहका प्रहरी बढी छन् । तल्लो तहका प्रहरीको संख्याका धेरै भएका कारण कारबाहीमा पर्नेको संख्यामा पनि उनीहरू धेरै देखिएको नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले बताए ।
प्रवक्ता आचार्यका अनुसार सर्वसाधारण जनतालाई दुःख दिने प्रहरीविरुद्ध कारबाही गरिएको हो । उनले भने, ‘हामीले गैर व्यवसायिक, आर्थिक अनियमितता तथा अन्य विभिन्न अनियमित काम गर्नेलाई कारबाही गरेका हौँ ।’
चालु आवमा एकजना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) नै कारबाहीमा परेको प्रधान कार्यालये जनाएको छ । त्यसैगरी २ जना प्रहरी नायब उपरीक्षक (डिएसपी) र १४ जना प्रहरी निरीक्षक (इन्स्पेक्टर)लाई समेत कारबाही गरिएको छ ।
अन्य सुरक्षा निकायभन्दा नेपाल प्रहरी सर्वसाधारण जनतासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकाले प्रहरीविरुद्ध अधिकांश उजुरी आर्थिक अनियमितताका हुने गरेको नेपाल प्रहरीका उच्च अधिकारीहरू बताउँछन् ।
००००
यस्तै तल्लो दर्जाका प्रहरी कारबाहीमा पर्नुका अरू कारण पनि छन् । प्रहरीका हाकिमहरूले राख्ने घुमुवा प्रहरीमार्फत गर्ने आर्थिक अनियमितता पनि अर्को प्रमुख कारण हो ।
एक पूर्वआईजीपी भन्छन्, ‘प्रहरीका हाकिमले घुमुवा राखेर पैसा उठाउने कामले आर्थिक अनियमितता बढाएको छ । प्रहरी कारबाहीको यो मुख्य कारण ठानेको छु ।’
प्रहरी प्रधान कार्यालयले प्रहरीमाथि निगरानी गर्ने कामलाई प्राथमिकता नदिनु र विभिन्न समुदायबाट आएका प्रहरीलाई संगठनको अनुशासन सिकाउनमा कमी कमजोरी हुनु प्रहरी कारबाहीका अन्य कारण भएको ती अवकाशप्राप्त आईजीपी बताउँछन् ।
प्रहरी हुँ भन्दैमा अपराध गर्ने कसैलाई पनि छुट छैन : आईजी थापा
यता, प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापा भन्छन्, ‘प्रहरी हुँ भन्दैमा अपराध गर्ने कसैलाई पनि छुट छैन ।’ नागरिकको जनधनको सुरक्षा र कानुन कार्यान्वयनमा समेत कसैसँग कुनै प्रकारको सम्झौता नहुने उनको दाबी छ ।
राज्य कोषबाट लाखौं रुपैयाँ खर्च गरेर सर्वसाधारणको सुरक्षार्थ खटाइएका प्रहरी आफैँ अपराधमा संलग्न हुने क्रम बढेसँगै प्रहरी संगठनको बद्नाम पनि उत्तिकै भइरहेको छ । त्यसकारण आईजीपी थापा बर्दीको आडमा अपराध गर्ने प्रहरीले उन्मुक्ति नपाउने बताउँछन् ।
बर्दीको आडमा अपराध गरेका प्रहरी निलम्बनमा परे पनि यस्तो प्रवृत्ति नरोकिए पछि प्रहरी प्रधान कार्यालयले कडाभन्दा कडा नियम ल्याएर कारबाही गर्ने तयारी गरेको छ ।
