काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया आफ्नो ६ वर्षको कार्यकाल सम्पन्न गरेर बिदाइ भएका छन्। शुक्रबार आफू पद सम्हालेको ६ वर्ष पुगेकै दिन उनी निर्वाचन आयोगबाट बिदा भएका हुन्।
थपलिया २०७६ वैशाख ६ गते प्रमुख निर्वाचन आयुक्त पदमा नियुक्त भएका थिए।
थपलियाको बिदाइमा आयोगको सभाहलमा विशेष कार्यक्रम गरिएको थियो। कार्यक्रममा आयोगका पदाधिकारी एवं कर्मचारीहरूको उपस्थिति थियो।
थपलियालाई निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबराले पुष्पगुच्छा र मायाको चिनो उपहार प्रदान गरेका थिए।
उनले बिदाइ कार्यक्रममा आफ्नो ६ वर्षको कार्यकालको अनुभवलाई लोकतन्त्रको सुदृढीकरण र निर्वाचन व्यवस्थापन सुधारका लागि सिर्जनात्मक चिन्तन र अनुभूतिको आत्मदर्शन गर्ने महत्वपूर्ण अवसरको रुपमा लिएको बताए।
आयोगको इमान्दार प्रयासमा अमूल्य सहयोग,सहकार्य र सहजीकरण गर्ने सबैप्रति उनले कृतज्ञता पनि व्यक्त गरे।
