काठमाडौं । नेपाल प्रहरीको सर्वोच्च पदमा पुग्ने पहिलो महिला हुन्, डाक्टर दुर्गा थापा । सबैभन्दा उच्च पदमा पुगेकी थापा प्रहरीको प्राविधिकतर्फ अतिरिक्त महानिरीक्षक (एआईजी) भएकी थिइन् । तीसवर्षे सेवा अवधिका कारण २०७६ पुसमा उनले अवकाश पाइन् ।
त्यसपछि डाक्टर आशा सिंह प्राविधिकतर्फकै एआईजी भइन् । उनले पनि आवकाश पाइसकेकी छन् । त्यस्तै २०७९ जेठमा नेपाल प्रहरीको इतिहासमा पहिलोपटक जनपद समूहतर्फको एआईजीमा महिला प्रहरी पूजा सिंह नियुक्त भइन् ।
त्यसपछि जनपथ समूहतर्फकै चार जना महिला प्रहरी एआईजीसम्म भए । किरण बज्राचार्य, मिरा चौधरी, किरण राणा र दुर्गा सिंह एआईजीसम्म भएर अवकाश पाइसकेका छन् । उनीहरुको अवकाशपछि एआईजीमा अहिले महिला प्रहरीको सहभागिता छैन् ।
त्यस्तै जनपथ समूहतर्फको प्रहरी नायब महानिरीक्षक (डिआईजी) पदमा पनि महिला प्रहरी छैनन् भने प्राविधिकतर्फ एकजना महिला प्रहरी कार्यरत रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्राविधिकतर्फ केनाइन महाशाखाकी प्रमुख, हुन् डिआईजी देउती गुरुङ ।
हाल प्रहरी संगठनमा ७९ हजार ५ सय ४१ जनाको दरबन्दी छ । जसमध्ये नेपाल प्रहरीमा कुल ९ हजार २ सय ९६ जना महिला कर्मचारी छन् । त्यसमा पनि अफिसर दर्जामा २०० जना मात्रै महिला प्रहरी कार्यरत छन् । प्रहरी निरीक्षक (इन्स्पेक्टर) भन्दा माथिलाई अफिसर दर्जा भनिन्छ ।
जसमा प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)मा जम्मा ६ जना महिला प्रहरी कर्मचारी कार्यरत छन् । जसमध्ये पनि प्राविधिकतर्फ तीनजना र जनपथतर्फ तीनजना रहेको प्रधान कार्यालयले जनाएको छ । जनपथतर्फ कार्यरत महिला एसएसपीहरु हुन् गंगा पन्त, तारादेवी थापा र रञ्जु सिग्देल ।
त्यस्तै प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार प्रहरी उपरीक्षक (एसपी) पदमा ८ जना महिला प्रहरी कर्मचारी कार्यरत छन् । जसमध्ये जनपथतर्फ एक र प्राविधिकतर्फ ७ जना रहेको बताइएको छ । जनपर्थतर्फ कार्यरत एसपी हुन् बसुन्धरा खड्का ।
त्यसैगरी प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा ३९ जना महिला प्रहरी कार्यरत छन् । जसमध्ये जनपथतर्फ १८ र प्राविधिकतर्फ २१ जना कार्यरत छन् । जनपथतर्फ कार्यरत महिला डिएसपीहरु हुन् कोपिला चुडाल, पूर्णिमा कुमारी चन्द, शर्मिला गुरुङ, चन्चला श्रेष्ठ, रुपा लाबुङ, एलिजा गिरी, चेतना पोखरेल, सुरक्षा केसी, रुपा थापा, सुभद्रा वाईवा लामा, लक्ष्मी खनाल, शैलेश्वरी बोहरा, हिमा थोक्कर शिला थापालगायत ।
यस्तै इन्स्पेक्टर पदमा १४६ जना महिला प्रहरी कर्मचारी कार्यरत छन् । जसमध्ये जनपथतर्फ ८९ र प्राविधिकतर्फ ५२ जना कार्यरत रहेको प्रधान कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
यस्तै प्रहरी सहायक निरीक्षक (असई) र प्रहरी नायव निरीक्षक (सई) र बरिष्ठ सई जुनियर अफिसरमा पर्छन् । जनपथतर्फ बरिष्ठ सईमा ६५ जना र प्राविधिकतर्फ ६२ जना गरी १२७ जना कार्यरत छन् ।
यसैगरी सईमा ११९ जना जनपथतर्फ र १०६ जना प्राविधिकतर्फ गरी २२५ जना कार्यरत छन् भने असईमा ५३३ जना महिला प्रहरी कर्मचारी कार्यरत छन् । जसमध्ये ४४७ जना जनपथतर्फ कार्यरत छन् भने ८६ जना प्राविधिकतर्फ कार्यरत रहेको प्रधान कार्यालयले जनाएको छ ।
त्यस्तै प्रहरी बरिष्ठ हवल्दार पदमा जनपथतर्फ १५४ र प्राविधिकतर्फ ३६ जना गरी १९० जना कार्यरत छन् । यस्तै हवल्दार पदमा जनपथतर्फ ८९० र प्राविधिकतर्फ १३९ गरी १ हजार २९ जना कार्यरत रहेको कार्यालयले जनाएको छ ।
त्यसैगरी, प्रहरी सहायक हवल्दारमा जनपथतर्फ एक हजार ५२२ जना र प्राविधिकतर्फ ९३ जना गरी एक हजार ६१५ महिला प्रहरी कार्यरत छन् । यस्तै प्रहरी जवानमा जनपथतर्फ ४ हजार ६१९ जना र प्राविधिकतर्फ २२६ जना गरी ४ हजार ८४५ जना कार्यरत छन् ।
प्रहरी कार्यालय सहयोगीको रुपमा ५ सय ३२ जना महिला कर्मचारी कार्यरत रहेको कार्यालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । यसरी जम्मा जनपर्थतर्फ ८ हजार ४५९ जना र प्राविधिकतर्फ ८३७ जना महिला प्रहरी कार्यरत छन् ।
६ दशक लामो इतिहास बोकेको नेपाल प्रहरीमा हालसम्म महिला प्रहरी महानिरीक्षक भएका छैनन् । पहिलोपटक महिला भर्ना ००८ देखि सुरु भयो । ०४९ मा खुला प्रतिस्पर्धाबाट पहिलोपटक इन्स्पेक्टरमा महिला भर्ना भएकी थिइन् । ती हुन् पूजा सिंह ।
‘प्रहरीमा महिला कर्मचारीको संख्या बढाउनु जरुरी छ’
हरेक क्षेत्रमा महिला सहभागिता ३३ प्रतिशत सुनिश्चितता भए पनि व्यवहारमा लागू छैन । ३३ प्रतिशत महिलाको सहभागिता भनिरहँदा प्रहरी संगठन भने मुस्किलले ११ प्रतिशतमात्र छ ।
यस विषयमा प्रहरीका केन्द्रीय प्रवक्ता डिआईजी दिनेशकुमार आचार्यले संगठनमा महिला कर्मचारीको संख्या बढाउनु जरुरी रहेको बताए । यसका निम्ति आफूहरुले काम गरिरहेको समेत आचार्यले बताए । उनले भने, ‘संविधान अनुसार ३३ प्रतिशत महिला सहभागितालाई संगठनले प्राथमिकतामा राखेको छ ।’
पछिल्लो समय महिलालाई उपयुक्त ब्यारेक, शौचालय, कपडा फेर्ने कक्ष अनि महिला सहभागिता बढाउने नीतिका कारण प्रहरीमा महिलाको सङ्ख्या बढ्ने प्रवक्ता आचार्य बताउँछन् ।
सुरक्षा निकायमा महिलाको सङ्ख्या बढ्दा महिला सशक्तीकरणको सन्देश जाने बताउँछिन् पूर्वएआईजी किरण बज्राचार्य । उनी भन्छिन्, ‘सुरक्षा दिने र अपराध अनुसन्धान गर्ने जस्ता चुनौतीपूर्ण काममा महिलाको उपस्थिति बाक्लो भएपछि यसले पुरुषले मात्र गर्न सक्छन् भनिएका यो र अन्य क्षेत्रमा काम गर्न महिलाहरूलाई प्रेरणा दिन्छ ।.
०००
हाल प्रहरीमा जम्मा दरबन्दीको १० वटा पदमात्र रिक्त रहेको प्रवक्ता आचार्यले बताए । बुधबार ६ जना एआईजीमा बढुवा सिफारिस भएपछि अब प्रहरी संगठनमा १० वटा डिआईजी पद खाली भएको हो ।
रिक्त डिआईजी बढुवाको प्रतिस्पर्धामा जनपथतर्फ कार्यरत ३ महिला एसएसपी समेत रहेका छन् । यद्यपी, अहिले प्रतिस्पर्धामा रहेका ती महिला प्रहरी बढुवा भएमा डिआईजी पदमा समेत महिलाको सहभागिता कायम हुनेछ ।
तर, चुनौतीपुर्ण काम भएपनि महिलाहरूमा बर्दी लगाएर काम गर्ने चाहना भने निकै देखिन्छ ।
