काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका युवकमाथि प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको भिडीओ भाइरल भएपछि उपत्यका प्रहरी कार्यालय रानीपोखरीले विमानस्थलमा कार्यरत ३ प्रहरी कर्मचारीको सरुवा गरेको छ ।
पछिल्लो ३ दिनयता सामाजिक सञ्जालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका युवकमाथि प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको भिडीओ भाइरल भएको थियो ।
भिडिओ भाइरल भएपछि प्रहरी महानिरीक्षक दिपक थापाले समेत चासो राखेका थिए । थापाले चासो राखेपछि उपत्यका प्रहरी कार्यालयले घटनामा सलग्न ३ प्रहरी कर्मचारीलाई रानीपोखरी तानेर थप अनुसन्धान गरेको जनाएको छ ।
कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शेखर खनालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘उक्त कार्यमा सलग्न देखिएका ३ जना प्रहरी कर्मचारीलाई विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइ यस कार्यालयामा झिकाइ आवश्यक छानबिन तथा अनुसन्धान भइरहेको जानकारी दिइन्छ ।’
उनीहरुलाई कारबाहीस्वरुप रानीपोखरी तानिएको हो ।

