काठमाडौं । सरकारले विवादरहित ढंगले नेपाल प्रहरीको ३१ औं नेतृत्व चयन गरेको छ । यसपटक विगतमा जस्तो मुद्दा मामिला पनि भएन । आईजीपीका दाबेदारहरु सुदिप गिरी र टेक तामाङले खुला दिलले आईजीपीमा बढुवा भएका ब्याचमेट थापालाई बधाई शुभकामना दिए ।
आईजीपी बढुवासँगै गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)लगायत रिक्त पदहरुमा बढुवा प्रक्रिया अगाडि बढाएको छ । बढुवाको तयारीसँगै थापापछि हुने संगठनको नयाँ आईजीपीको हिसाब किताब पनि सुरु भएको छ ।
दिपक थापा र उनीसँगै भर्ना भएका ब्याचमेटले आगामी भदौमा ३० वर्षे सेवाहदका कारण अवकाश पाउनेछन् । त्यसपछि आईजीपीका दाबेदारमा अहिलेको ७ जना प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरु प्रतिस्पर्धामा छन् ।
चन्द्रकुवेर खापुङं र कृष्णहरि शर्मा पोखरेलमध्ये एकजना अहिले एआईजीमा अगाडि बढुवा भए दिपक थापापछि छोटो समय दुई महिनाको लागि आईजीपी बन्ने मौका पाउनेछन् । खापुङं र पोखरेल २७ कात्तिक २०५२ मा प्रहरी निरीक्षकमा भर्ना भएका थिए ।
त्यस्तै एआईजी बढुवाको लागि अगाडि आउनको लागि दानबहादुर कार्की, डा. मनोज केसी र राजन अधिकारी पनि लागिपरेका छन् । उनीहरु २०५४ चैत १८ मा प्रहरी निरीक्षकमा भर्ना भएको टोली हो ।
२०५४ को टोली बढुवामा अगाडि आएको अवस्थामा २०५२ कात्तिक २७ को टोली एआईजीमै घर जानेछ । त्यतिमात्र नभएर उनीहरुभन्दा भर्नामा सिनियर अर्को टोली समेत एआईजीमै घर जानुपर्ने हुन्छ ।
अहिलेको एआईजी बढुवामा सिद्धिविक्रम साह, सुशिल सिंह राठौर र उमा चतुर्वेदी पनि प्रमुख दाबेदार हुन् । उनीहरुको टोली ५ पुस २०५३ मा प्रहरी निरीक्षकमा भर्ना भएका हो । जबकी उनीहरु भद्र, शालिन र व्यवसायिक प्रहरी अधिकारीका रुपमा चिनिन्छन् ।
अहिलेको अवस्थामा उनीहरु आफूहरुलाई यसअघि गरिएको अन्याय वर्तमान सरकारले न्याय गरेर दिने अपेक्षामा छन् । अहिले अगाडि आएमा यो टोलीले समेत प्रहरीको कमाण्ड गर्न पाउनेछ । त्यसैले २०५४ को टोलीलाई रोक्ने गृहकार्यमा लागेको छ ।
जबकी २०५४ टोलीका कार्की, केसी र अधिकारी यसअघि तत्कालिन उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको भिटो प्रयोग गरेर सियिनर टोलीका दुई ब्याचलाई नै छुटाएर डिआईजीमा बढुवा भएका व्यक्ति हुन् । त्यसकारण अहिले उनीहरुको सम्भावना भने न्यून छ ।
२०५३ टोलीपछि पनि उनीहरुको संगठनको नेतृत्वमा पुग्ने समय भएकाले अहिले उनीहरुको बढुवा समभावना कम रहेको गृह स्रोत बताउँछ ।
एआईजी बढुवाको लागि २०५२ टोलीका तीनजना दाबेदार रहेपनि आगामि जेठपछि लालमणि आचार्य अवकाशमा जाने भएपछि उनी आईजीपीको दौडमा छैनन् । तर, अहिलेको एआईजी बढुवामा पर्ने सम्भावना भने छ ।
यी माथिका मध्ये जो एआईजी बढुवामा पहिलो हुन्छ उही नै भावी आईजीपी हुने सम्भावना छ । त्यसकारण एआईजी बढुवामा पहिलो नम्बरमा पर्न उनीहरु दौडधुपमा लागिसकेका छन् ।
