काठमाडौं । पछिल्लो ३ दिनयता सामाजिक सञ्जालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदेशबाट फर्किएका युवकमाथि प्रहरीले लछारपछार गर्दै कुटपिट गरेको भिडीओ भाइरल छ ।
यो भिडीओ सार्वजनिक भएपछि ‘प्रहरी मेरो साथी र मुस्कानसहितको प्रहरी’ को व्यवहारलाई लिएर सामाजिक सञ्जालमा तिव्र आलोचना भइरहेको छ । भिडीओमा प्रहरीको दुर्व्यवहारमा परेका युवा मोरङका सञ्जय ओझा हुन् भने घटना गत आइतबार बिहान करिव साढे ११ बजेको हो ।
युएईमा मार्केटिङको काम गर्दै आएका ओझा करिब १० महिनापछि आफन्तको विवाहमा सहभागि हुन १० दिनकै विदा लिएर नेपाल आएका थिए । तर, विमानस्थलमा झमेलामा फसे ।
उनलाई एक ट्राफिकसहित तीनजना प्रहरीले ठुलै अराधिलाई झै हात पछाडि मर्काएर आगमन कक्षभित्र लगेको भिडिओमा देख्न सकिन्छ । त्यसपछि एक जना प्रहरी हवल्दारले युवकको अनुहार र खुट्टामा प्रहार गरेको पनि भिडीओमा देखिन्छ ।
दुई मिनेटको यो भिडिओमा खिचिरहेका व्यक्तिले युवकलाई कुटपिट नगर्न अनुरोध गरेका छन्। एक युवतीले पनि कुटपिट नगर्न प्रहरीलाई आग्रह गरिरहेको देखिन्छ । कुटपिट र दुर्व्यवहारपछि प्रहरीले केही वेरपछि उनलाई छोडेको थियो ।
आगमन कक्ष बाहिर ट्रली लिएर बसिरहँदा आफुलाई विमानस्थलको कर्मचारी बताउने एक जना व्यक्ति आएर ट्याक्सीबारे सोध्न थालेको र आफुले ट्याक्सी नचाहिएको बताएपछि समस्या सुरु भएको ओझाले बताए ।
‘ट्रली लिएर म कुरिरहेको थिएँ। एक जना मान्छे आएर ट्याक्सीको विषयमा कुरा गर्नुभो मैले चाहिँदैन भने । म उभिएको ठाउँमा पहिले ट्रली राख्न मिल्थ्यो । अहिले १० महिनापछि आउँदा उनले यहाँ ट्रली राख्न मिल्दैन भनेर भने । उनको रूखो व्यवहारले मलाई अत्यन्तै नरमाईलो लागिरहेको थियो । त्यसपछि उनी गाली नै गर्न थाले’ ओझाले सेतोपाटीसँग भनेका छन् ।
विमानस्थलकै कर्मचारी बताउने व्यक्तिले अभद्र व्यवहार गर्न थालेपछि आफुले उनीसँग आईडी कार्ड मागेको र त्यही विषयलाई भयंकर बनाएर आफुमाथि अपराधिलाई झै व्यवहार गरिएको ओझाको गुनासो छ । ‘अधिकार नै नभएका ट्राफिक प्रहरीले मेरो हात बटारे । अझै दुखिरहेको छ । अनुहारमा मुक्का हाने, ओठमा चोट लागेको छ,’ उनले भने ।
यता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा दिइरहेको नेपाल प्रहरीको नेपाल प्रहरीको सुरक्षा कार्यालय गौचरनका एसपी लालध्वज सुवेदीले भने युवाको अटिट्युडका कारण लफलडा भएको बताएका छन् ।
बाहिर सम्झाउँदा पनि नमानेपछि उनलाई भित्र लगिएको सुवेदीको भनाई छ ।
