काठमाडौं । तीनकुनेमा भएको राजावादी प्रदर्शनका फिल्ड कमान्डर दुर्गा प्रसाईंविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा पनि मुद्दा चलाउने तयारी गरेको छ।
१५ चैतमा आयोजित प्रदर्शनमा सुरक्षाकर्मीलाई मार्ने नियतले गाडीले पेल्दै अघि बढेको आरोपमा उनीविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगको कसुरमा अनुसन्धान सुरु गरेको छ । उनी जिल्ला प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् ।
ज्यान मार्ने नियतले गाडीले पेलेर अघि बढेको भन्दै उनीविरुद्ध ड्युटीमा खटिएका प्रहरीहरूले सामूहिक निवेदन दिएको जनाइएको छ । प्रसाईँविरुद्ध यही मुद्दा सबैभन्दा बलियो बन्न सक्ने बताइएको छ ।
सार्वजनिक भएको भीडीओमा प्रसाईं आफैंले गाडी चलाउँदै ड्युटीमा खटिएका प्रहरीलाई पेल्दै गाडी अगाडि बढाएको देखिन्छ । त्यस क्रममा उनले अपशब्द समेत बोलेका थिए । उनीविरुद्ध आपराधिक उपद्रवको कसुरमा पनि अनुसन्धान भइरहेको छ ।
प्रहरी स्रोतका अनुसार अहिलेसम्म प्रसाईंविरुद्ध चार वटा कसुरमा अनुसन्धान भइरहेको छ । सुरुमा राज्यविरुद्धको कसुर अन्तर्गत राजद्रोहको कसुर र संगठित अपराधमा काठमाडौं जिल्ला अदालतबाट म्याद लिइएको थियो ।
त्यसपछि ज्यान मार्ने उद्योगको कसुर र आपराधिक उपद्रव पनि थपिएको छ । तीनकुनेको प्रदर्शनलाई हिंसात्मक बनाएर भागेका प्रसाईं दुई सातापछि भारतको आसामबाट पक्राउ परेका थिए ।
२८ चैतमा आसामा पक्राउ परेका उनलाई २९ चैतमा काठमाडौं ल्याइएको थियो। उनलाई अदालतमा उपस्थित गराउँदा न्यायाधीश शिशिरराज ढकालको इजलासले पहिलो पटक १२ दिन हिरासतमा राख्न म्याद दिएको थियो ।
झापाको बिर्तामोड नगरपालिका–५ का ५४ वर्षीय विवादास्पद प्रसाईंले पछिल्लो समय राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको नेतृत्व गर्दै थिए ।
