काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) को १२ औं महाधिवेशनमा डाक्टर नरेश भट्टले अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका छन् । कैलाली धनगढी घर भएका भट्टले आउँदै गरेको १२ औं महाधिवेशनमा अध्यक्षको लागि औपचारिक उम्मेदवारी घोषणा गरेका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमा समेत भट्टले ‘मिसन केन्द्रीय अध्यक्ष, नेविसंघ । १२ औं महाधिवेशन, जय नेपाल ।’ भन्दै स्ट्याटस लेखेका छन् । उनले आफ्नो उम्मेदवारी घोषणा गर्दै देश, संगठन र विद्यार्थीहरूको हक–हितका लागि नेविसंघलाई एकताबद्ध रूपमा अगाडि बढाउने बताएका छन् ।
आफ्नो उम्मेदवारीले नेविसंघको नेतृत्व प्रतिस्पर्धालाई थप गतिशील बनाउने अपेक्षा उनको रहेको छ । हाल उनी नेविसंघको केन्द्रीय सदस्य हुन् ।
काठमाडौं विश्वविद्यालयबाट एमबीबीएस अध्ययन पुरा गरेका भट्टले नेपाल ल क्याम्पसका कानुन विषय समेत अध्ययन गर्दै आएका छन् । उनकै नेतृत्वमा भएको आन्दोलनका कारण चिकित्सा शिक्षा भित्रका विभिन्न बेथितिको अन्त्य भएको उनको दाबी छ ।
चिकित्सा शिक्षामा निजी कलेजहरूको ८० लाखसम्म पुगेको शुल्क घटाएर ४० लाखमा सीमित राख्न सफल भएका थिए । त्यस्तै नर्सिङ तथा मेडिकल विद्यार्थीहरूको शुल्क फिर्ता, छात्रावास र छात्रवृत्तिको माग लिएर आन्दोलनको नेतृत्व समेत गरेका थिए ।
काठमाडौं विश्वविद्यालय मेडिकल साइन्सेजको नेविसंघ सभापति, विद्यार्थी कल्याण परिषद् अध्यक्ष, चिकित्सा शिक्षा संघर्ष समितिका संयोजक र फेडेरेसन अफ नेपाली मेडिकल स्टुडेन्ट्सका राष्ट्रिय अध्यक्षको जिम्मेवारी समेत सम्हालेको अनुभव उनीसँग छ ।