काठमाठौं । सप्तरीमा सामुदायिक भवन बनाउन भन्दै जनप्रतिनिधिको निर्देशनमा एक मुसहर परिवारको घर भत्काइएको छ । राजगढ गाउँपालिका–४ का वडाध्यक्ष अशोककुमार साहले २६ चैतमा जबर्जस्ती स्थानीय रञ्जनकुमारी सदाको घर डोजर लगाएर भत्काएका हुन् ।
बाबुबाजेकै पालादेखि जमुवा टोलस्थित सार्वजनिक पोखरीको डिलमा बसोबास गर्दै आएको रञ्जनाको परिवार घर भत्काइएपछि उनको परिवार नै बिचल्लीमा परेको छ । वडाध्यक्ष साहले जबर्जस्ती डोजर लगाएर घर भत्काएपछि आफूहरू बेघर भएको रञ्जनाको गुनासो छ।
‘मेरो पति र ससुरा २२ चैतमा कामका लागि भारतको पन्जाब जानुभयो । चार दिनपछि वडाध्यक्षले मान्छे परिचालन गरेर जबर्जस्ती घर भत्काए,’ रञ्जनाकुमारीले भनिन्। आफ्नो घर वडा कार्यालयले भत्काएपछि रञ्जना चार छोराछोरीसहित छिमेकीको घरमा शरण लिएर बसेकी छन् ।
घर भत्काएपछि रञ्जनाले २९ चैतमा प्रमुख जिल्ला अधिकारीलाई निवेदन दिएकी छन । उनले दिएको निवेदनका आधारमा प्रजिअ भोला दाहालले सम्बन्धित पालिकासँग सवन्वय गरी छानबिनसहित आवश्यक सहजीकरण गर्न सम्बन्धित शाखामा निर्देशन दिएका थिए । तर, हालसम्म समस्या समाधान हुन सकेको छैन ।