काठमाडौं । सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) चन्द्रप्रकाश गौतम उर्फ सीपी गौतम आज (वैशाख ३)बाट अनिवार्य अवकाशमा गएका छन् । ३० वर्षे सेवा अवधिका कारण उनी अनिवार्य अवकाशमा गएका हुन् ।
आइतबार साँझसम्म सशस्त्र प्रहरी नियमावली नै संशोधन गर्न लागिपरेका गौतम विगत एक महिनादेखिनै मुख्यालयमा हाजिर गरेर बाहिरिने गरेका थिए । तर कुनै एक व्यक्तिका लागि नियमावली परिवर्तन नहुने भन्दै गृहमन्त्रीले नमानेपछि उनी घर जान बाध्य भएका हुन् ।
प्रहरी कितावखानाले उनलाई एक महिनाअघि नै अवकाशको जानकारी दिइसकेको थियो । उनी मंगलबारबाट सशस्त्रबाट अनिवार्य अवकाशमा जाने भएपछि एक महिना अघि नै अवकाशको पत्र दिएको हो । नेपाली सेनाबाट सशस्त्रमा आएका र माथिल्लो दर्जामा रहेका एक मात्र गौतम अवकाशमा गएपछि अब तल्लो दर्जामा ६ जना बाँकी रहेका छन् ।
उनको अवकाशसँगै सशस्त्र प्रहरीमा एक एआईजी रिक्त भएको छ । रिक्त एआईजीको लागि तीनजना नायब महानिरीक्षक (डिआइजी)बीच बढुवा प्रतिस्पर्धा शुरु भएको छ । सो पदमा डिआइजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङबीच प्रतिस्पर्धा शुरु भएको हो ।
गत पुसमा मात्रै म्याद थप भएका तीन डिआइजी अहिले एआईजीको दावेदारका रुपमा देखिएका छन् । जागिरको अवधि २५ वर्ष पूरा नहुँदै अवकाशको मुखमा पुगेका उनीहरूको म्याद थप भएपछि अहिले एआईजीमा दावी गरेका हुन् ।
सशस्त्र प्रहरी नियमावली २०७२ अनुसार डिआइजीको चार वर्ष अवधि पूरा गरेर अवकाश हुन लागेको अवस्थामा ‘सरकारले आवश्यक ठाने एक वर्ष पदावधि थप गर्न सक्नेछ’ भन्ने प्रावधान अनुसार म्याद थप भएको थियो ।
डिआइजी गिरी सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठानको प्रमुख छन् भने ठाडामगर नम्बर–३ बाहिनी बागमती प्रदेशका प्रमुख र नेम्वाङ नम्बर–४ बाहिनी गण्डकी प्रदेशका प्रमुख छन् ।
यस्तै एआईजीको दौडमा डिआइजी शम्भु सुवेदी समेत देखिएका छन् । हाल उनी नम्बर–१ बाहिनी कोसी प्रदेशका प्रमुख छन् ।