काठमाडौँ । घर–परिवार हरेक मानिसका लागि जीवनको मुख्य सहारा हो । तर कहिलेकाहीँ त्यही घर–परिवारबाट मानिसको जीवन समाप्त पनि हुन्छ ।
जहाँ मानिसले आफूलाई सबैभन्दा बढी सुरक्षित महसुस गर्नुपर्ने हो, त्यहीँ असुरक्षित भएर जीवन गुमाउनुपर्ने अवस्था आउनु भनेको सभ्य समाज निर्माणका लागि मुख्य चुनौती पनि हो ।
पछिल्लो समय घर–परिवारकै सदस्यबाट भएका आपराधिक घटनामा ज्यान गुमाउनेहरुको संख्या बढ्दै गएको छ । सांघातिक आक्रमण तथा हत्याका घटनामा आफ्नै परिवारका सदस्य तथा चिनजानकै व्यक्ति संलग्न रहेको उदाहरण प्रशस्त पाइन्छ ।
केही प्रतिनिधिमुलक घटना
घटना नम्बर १ : गत २५ गते सुनसरीको धरान–६ मा रहेको पाँचकन्या सामुदायिक वनमा धनकुटा महालक्ष्मी नगरपालिका–१ की ३४ वर्षीय चुनुकुमारी दाहाल मृत भेटिइन् । शव भेटिएपछि ती महिलाको सनाखत उनकै भाइ लीलबहादुर दाहाल र ससूराले गरे ।
मृतक महिला दुई वर्ष अगाडिदेखि इटहरीको हलगडामा बसोबास गर्दै आएकी थिइन् । उनको १३ वर्षीय छोरा साथमै रहेका थिए भने श्रीमान् कोरियामा रहेका प्रहरीले जनाएको छ । घटना शंकास्पद रहेको बताइन्छ ।
मृतक दाहालको शरीरमा चोटपटक देखिएको थियो भने अर्धनग्न अवस्थामा फेला परेकी थिइन् । प्रारम्भिक अनुसन्धानमा शव केही मिटर घिसारिएको जस्तो देखिन्छ । जसले गर्दा ती महिलाको हत्या नै भएको हो ।
यद्यपी पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । तर, प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा ती महिलाको परपुरुषसँग अवैध सम्बन्ध रहेकाले उनको सम्पत्ति देखेर आफ्नै प्रेमीले हत्या गरेको खुलेको छ ।
घटना नम्बर २ : यस्तै काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ स्थित माकलबारीमा एक लाख लेनदेनको विवादमा आरके मोटरसाइकल वर्कसपमा काम गर्ने १९ वर्षीय राहुल साहको हत्या भयो ।
गोकर्णेश्वरको बाहुनधारा बस्ने साह चैत ११ गतेदेखि सम्पर्कबिहीन थिए । चैत १५ मा हत्या गरेर वर्कसप पछाडिको जमिनका गाडेको अवस्थामा साहको शव भेटिएको थियो । प्रहरीले हत्यामा संलग्न आरोपमा प्रहरीले वर्कसप सञ्चालकसहित ६ जनालाई पक्राउ गरेको छ ।
१ लाख १० हजार रुपैयाँ लेनदेन विवादमा उनको हत्या भएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले जानकारी दिए । साहले ग्यारेज सञ्चालकसँग रकम लिनुपर्ने थियो । रकम लिन उनी वर्कसपमा पुग्छन् । पैसा दिन आनाकानी गरेपछि ‘पैसा नलिई जान्न’ भन्दै साह घण्टौं वर्कसपमा बसेपछि उनीहरूको बिचमा विवाद सुरु भएको थियो ।
ती अधिकृतले भने, ‘साहले पैसा नलिई नजाने अडान राखेसँगै वर्कसपका कामदार र बाहिरबाट समेत थप व्यक्ति बोलाएर हत्या गरेको देखिन्छ ।’
घटना नम्बर ३ : १४ चैतमा ललितपुरको इमाडोलस्थित ओचुहाइटमा एकजना युवकको हत्या हुन्छ । रामेछाप घर भएर महालक्ष्मी नगरपालिका–४ ओचुहाइट बस्ने ३० वर्षीय रिपक खातीको हत्या भएको हो ।
रामेछाप घर भएका सुमन रसाइलीले उनलाई खुकुरी प्रहार गरेर हत्या गरेका हुन् । हत्यामा संलग्न २५ वर्षीय रसाइली पक्राउ परिसकेका छन् । आपसमा विवाद हुँदा रसाइलीले आवेगमा आएर खुकुरी प्रहार गरेका हुन् ।
घटना नम्बर ४ : त्यसैगरी हेटौंडामा आफ्नै देवरले भाउजूको बीभत्स हत्या गरे । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १ चौकी टोलमा २२ वर्षीय राहुल दासले चैत १३ गते आफ्नै जेठी भाउजूको खुकुरी प्रहार गरी हत्या गरेका हुन् ।
मकवानपुर प्रहरीका अनुसार राहुलले ३५ वर्षीया गुडिया दासलाई बुधवार दिउँसो खुकुरी प्रहार गरी हत्या गरेका हुन् । यस्तै राहुलको आक्रमणबाट माहिला दाजु रुपेश दास घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार राहुलले माइलो दाइमाथि खुकुरी आक्रमण गरेको भन्ने खबर पाएर पुगेको प्रहरीले उनलाई पक्राउ गरेर दिउँसो जिल्ला प्रहरी कार्यालयमा ल्याएको थियो ।
घरका सदस्यहरूले जेठी बुहारी गुडियालाई नदेखेपछि खोजतलास गर्ने क्रममा घरको माथिल्लो तल्लामा बन्द कोठाभित्र मृत अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए ।
दाईको सम्पत्ति हडप्ने योजनाका साथ उनले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा देखिएको छ ।
घटना नम्बर ५ : यसैगरी चैत १२ गते भक्तपुरमा कुटपिट गरी एक पुरुषको हत्या भयो । हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरिसकेको छ ।
भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय लक्ष्मण खड्काको हत्या भएको हो । खड्काको हत्या आरोपमा प्रहरीले सर्लाही लालबन्दी नगरपालिका वडा नम्बर ९ का ३९ वर्षीय यादव पौडेल र सिन्धुली तीन पाटन गाउँपालिका वडा नम्बर ३ का २४ वर्षीय अनिश तामाङलाई पक्राउ गरेको छ ।
लेनदेनको विषयमा खड्काको हत्या भएको हनुसक्ने अनुमान गरिएको छ ।
घटना नम्बर ६ : यस्तै चैत ९ गते भक्तपुरको बोडे निलबाराही जङ्गलमा मृत फेला परेका खोटाङ घर भई हाल भक्तपुरको कमलपोखरी बस्ने प्रकाश राईको हत्या भएको खुल्यो ।
खाली प्लास्टिक बोतल टिप्ने ६६ वर्षीय राईलाई रोल्पाका ५७ वर्षीय हिमाल बुढामगरले ढुङ्गाले टाउकोमा प्रहार गरी हत्या गरेको अनुसन्धानको क्रममा खुलेको प्रहरीले बताएको छ ।
बुढामगरले आफूहरू दुबै मिलेर रक्सी सेवन गरेको र घर फर्किने क्रममा राईले आफ्नो सय रुपैयाँ खोसेपछि झगडा भएको बताएका छन् । सो क्रममा आफूले ढुङ्गा प्रहार गरी हत्या गरेको बुढामगरले बयान दिएका छन् ।
०००
माथिका घटना प्रतिनिधिमुलक मात्र हुन् । केही महिनायता मुलुकका विभिन्न स्थानबाट हिंसाका यस्तै घटना बाहिरिएका छन् । यी प्रतिनिधिमुलक घटनाको विश्लेषण गर्ने हो भने सामान्य मनमुटाव, आर्थिक लेनदेन र अवैध सम्बन्धको विवादजस्ता घटना हत्यामा पुगेर अन्त्य हुने गरेको छ । हत्यामा आफन्त तथा चिनजानका व्यक्तिहरुकै संलग्नता पाइन्छ ।
घर–परिवार र समाजमा आपराधिक प्रवृत्ति बढ्न थालेको बुझ्नका लागि यी घटनाहरु बलिया उदाहरण हुन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरुका अनुसार कडा कानुन नहुँदा हत्याका घटनामा बढोत्तरी हुन थालेको छ ।
मनोविद् वासु आचार्य सामाजिक परिवेश र आर्थिक अभावले आपराधिक घटनामा वृद्धि हुन पुगेको बताउँछन् । आफन्तबाटै हत्या हुनुमा भने समाज,
मदिरा, मस्तिष्क र जिद्दीपन कारकका रुपमा रहेको उनको भनाइ छ ।
‘समाज विस्तारै क्रुर हुँदै गएको छ,’ मनोविद् आचार्यले भने । यस्ता घटना रोक्न सरोकारवाला निकायका एक÷दुईजना मात्रै नभई गाउँ–समुदाय नै लाग्नुपर्ने उनको भनाइ छ । ‘जब मान्छेसँग विकल्प हुँदैन, तब ऊ खतरनाक अपराधी बन्ने सम्भावना रहन्छ,’ उनले भने ।
नेपाल प्रहरीका पूर्वडीआईजी हेमन्त मल्ल ठकुरीले भने आक्रोशले मात्र नभई बदला र प्रतिशोधको भावले पनि हत्याका घटना बढ्दै गएको बताउँछन् । नजिकका मानिस वा आफन्तले रिस उठाएको अवस्थामा प्रतिशोधको भावना बढ्ने उनको भनाइ छ ।
‘टाढाकाले रिस उठाए भने वास्ता गरिन्न,’ उनले भने, ‘तर आफन्तले रिस उठाए भने बदलाको भावना लिने अवस्था हुन्छ, दैनिक जीवनमा उसकै सामना गरिरहनु पर्ने भएकाले पनि मानिसले आफन्तबाट उत्पन्न रिसलाई प्रतिशोधको रुपमा लिने गरेको हुन्छ ।’
यो परिस्थितिमा नै आफ्नैले आफ्नैलाई हत्या, बलात्कार गर्ने र आफन्तबाटै आपराधिक घटना हुने क्रम बढ्दै गएको पूर्वडीआईजी मल्ल बताउँछन् । यस्ता घटनालाई विचलित समाजको उदाहरणका रुपमा लिन सकिने उनको भनाइ छ ।
‘आफन्तबाटै आक्रमण तथा हत्याका हुनु विचलित समाजको उदाहरण हो,’ उनले भने, ‘कतिपय घटना यौन तथा मनोरोगका कारण पनि भएको पाइएको छ ।’
‘अपराध सामान्य हो, जस्तो अपराध गरे पनि उन्मुक्ति पाइन्छ भन्ने गलत सोच मौलाएको कारण पनि हत्याको दर बढेको देखिन्छ,’ उनले भने, ‘यो प्रवृत्ति र यस्तो सोच अन्त्य गर्नका लागि दण्डहिनताले कुनै पनि बहानामा प्रश्रय पाउनु हुँदैन ।’
प्रेममा धोकाले पनि हत्या हुने गरेको छ । व्यक्तिगत सम्बन्धमा आर्थिक लेनदेनको कुरा हुन्छ र पछि आर्थिक लेनदेनको कुरा नमिल्दा हत्या हुने गरेको पाइएको छ ।
हामीकहाँ मनोवैज्ञानिक परामर्श र सचेतनामूलक कार्यक्रमको आवश्यक रहेको मल्ल बताउँछन् । सजायले मात्र हत्या रोक्न र व्यक्तिलाई सुधार्न सम्भव नहुने उनको जिकिर छ । ‘आवेग र आक्रोश देखिए पनि खासमा मानसिक समस्याकै परिणाम हुन् बर्बर हत्या,’ उनले भने ।
ललितपुर प्रहरी प्रमुख एसएसपी श्यामकृष्ण अधिकारी पनि सामान्य विवादमा उत्पन्न रिस र आवेगलाई नियन्त्रण गर्न नसक्दा हत्याका घटना बढेको बताउँछन् । उनले भने, ‘यस्ता घटनामा आफन्त तथा चिनजानका व्यक्तिहरुकै संलग्नता पाइएको छ ।’