काठमाडौं । कपिलवस्तुको बुद्धभुमी नगरपालिकामा सिकार खेल्न गएका एक युवक साथीले बोकेको बन्दुकको गोली लागेर आफैं सिकार भएका छन् । बुद्धभुमी नगरपालिका–९ गब्दहवाका २८ वर्षीय समुन्द्र गाहा मगरको गोली लागेर मृत्यु भएको हो ।
गाउँका साथीहरु ३४ वर्षीय रामबहादुर थारु र ३६ वर्षीय राम थारु (कालु) सँग सिकार खेल्न गएका उनलाई गब्दहवादेखि करीब ६ किलोमिटर उत्तर तर्फ कपिलवस्तु र अर्घाखाँचीको सिमानामा रहेको बुद्ध यशोधरा सामुदायिक बनमा भरुवा बन्दुकको गोली लागेको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार घट्ना आइतबारको हो । उनलाई बन्दुक पड्किएर छर्राले खुट्टामा लागेको थियो । जंगलमा गाडीको आवाज सुनेपछि भाग्दै गर्दा राम थारुले बोकेको बन्दुक पड्किएर समुन्द्रको खुट्टामा लागेको जनाइएको छ ।
अत्यधिक रक्तश्राव भएका समुन्द्रको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।
समुन्द्रसँगै शिकार खेल्न गएका राम बहादुर थारु, राम थारु र हातहतियार लुकाउन सहयोग गर्ने प्रवेश थारुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गोरुसिंगेका इन्स्पेक्टर विरबहादुर सुनारले जानकारी दिए । प्रहरीले २ नाल भरुवा बन्दुक पनि बरामद गरेको छ ।
बरामद गरिएको एउटा बन्दुक फायर भएको अवस्थामा र अर्को लोड गरिएको अवस्थामा लुकाइ राखिएको अवस्थामा बरामद गरिएको सुनारले बताए ।
