काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल पर्साले ४ दिनअघि समाएको पिकअपसहितको कपडा तस्करीमा पर्साका नामुद तस्करहरुको सलग्नता देखिएको सशस्त्र प्रहरी स्रोतले जनाएको छ ।
फिल्मि शैलीमा पछयाएर गएको आइतबार भन्सार छलीका कपडासहितको पिकअप बेवारिसे अवस्थामा बरामद गरेको सशस्त्र प्रहरीले व्यक्तिको सलग्नताबारे खुलेर भन्न सकेको छैन ।
यद्यपि बरामद भएको तस्करीको कपडा वीरगञ्ज १६ इनर्वा निवासी बैला भनिने शत्रुधन यादव र उनका साइलेन्ट पार्टनर ट्रान्सपोर्ट एसोशिएसन पर्साका पुर्व अध्यक्ष बालकृष्ण पोखरेलको समेत संलग्नता रहेको सशस्त्र प्रहरी स्रोतको दावी छ ।
विगतमा पनि पटक पटक विवादमा मुछिएका बैला समुहले कहिले सशस्त्र प्रहरीलाई पिटेर त कहिले पत्रकारलाई पिटेर मुद्धा मामिला खेपेको जगजाहेर जस्तै छ । यता ट्रान्सपोर्ट एसोशिएसन पर्साका पुर्व अध्यक्ष बालकृष्ण पोखरेल पनि चोखो छैनन् उनको विगत पनि विवादित नै छ ।
अहिले पनि पोखरेलमाथि पर्सा जिल्ला अदालतमा ज्यान मार्ने उधोद्यमा मुद्धा दर्ता भई विगत १६ दिनदेखि फरार रहेका छन । प्रहरीले उनको खोजी कार्यलाई तिब्रता दिएको पर्सा प्रहरीले जनाएको छ ।
पोखरेलले ट्रान्सपोर्ट एसोशिएसनको आडमा अवैध भन्सार छलीका समान ओसार पसार गर्ने बैला जस्तै यहाँका धेरै तस्कर समुहहरुसंग साठगाठ गरी ट्रान्सपोर्टको माध्यमले देशका विभिन्न ठाउहरुमा माल समान पठाउने गरेका छन ।
यी समुहले २०२४ सेप्टेम्बर ७ तारिखमा वीरगञ्जबाट पठाएको लु ३ च ५०९८ नम्बरको पिकअप गाडीलाई बाराको पथलैयामा राजश्व अनुशनधान कार्यालयले नियन्त्रणमा लिएको थियो ।
बिलविजक गडबड भेटिएपछि पक्राउ परेको उक्त गाडीबाट भन्सार छलीका लाखौ रुपैयाँको समान बरामद भएपछि राजश्व अनुशनधानले यी समुहलाई १८ लाख रुपैयाँ जरिवाना गरेको थियो । अहिले पनि सशस्त्र प्रहरीले पक्राउ गरेको १० औँ लाख मुल्य भन्दा बढीको भन्सार छलीका कपडा यी समुहकै भएको लगभग क्लीयर नै छ ।
सम्बन्धीत निकायले सुक्ष्म अनुसन्धान गर्ने हो भने यी समुहको पहिचान गरि राज्यको लाखौ राजश्व चोरी गर्नेहरुलाई कार्यवाहीको दायरामा ल्याउन सकिन्थ्यो ।
