काठमाडौं । हाल प्रहरी संगठनमा अतिरिक्त महानिरीक्षक (एआईजी)को ६ वटा पद रिक्त छ । चैत ४ गते बसन्तबहादुर कुँवरको टोली अनिवार्य अवकाशमा र दिपक थापा प्रहरी महानिरीक्षक (आईजीपी)मा नियुुक्त भएपछि ६ वटा पद रिक्त भएको थियो ।
तर, थापाले प्रहरी हेडक्वार्टरको कमाण्ड सम्हालेको १८ दिन बितिसक्दा पनि एआईजीको बढुवा निस्कन सकेको छैन । कारण, यो बीचमा राजावादी आन्दोलन र प्रधानमन्त्रीको विदेश भ्रमण । त्यतिमात्र नभएर गएराति पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि झनै केही दिन लम्बिने संकेत छ ।
तर, प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किसकेकाले रिक्त एआईजी बढुवाको प्रक्रिया तत्कालै अघि बढ्नसक्ने एक सिनियर प्रहरी अधिकृतले बताए । ती अधिकृतले भने, ‘प्रधानमन्त्रीज्यू फर्किसक्नुभएको हुँदा सम्भवतः आजभोलीमै एआईजी बढुवाको टुंगो लाग्न पनि सक्छ ।’
बढुवाको दौडमा तीन टोलीमा नायब महानिरीक्षक (डिआईजी)मा बढुवा भएको अधिकृतहरु छन् । जसमध्ये २०८० वैशाख ७ मा डिआईजीमा बढुवा भएका चन्द्रकुवेर खापुङ र लालमणि आचार्य बढुवाको सबैभन्दा प्रबल दाबेदार हुन् ।
त्यस्तै तत्कालिन गृहमन्त्री रवि लामिछानेको कोपाभजनमा परेका डिआईजीहरु सिद्धिविक्रम शाह, सुशिल सिंह राठौर र उमा चतुर्वेदी पनि एआईजी बढुवाको दौडमा छन् । उनीहरु २०५३ सालमा प्रहरी सेवा प्रवेश गरेका हुन् । तर, डिआईजी बढुवामा उनीहरुलाई लामिछानेले पछि पारेका थिए ।
डिआईजी बढुवामा पछि भएपनि प्रहरी सेवाको क्रममा अघि रहेका उनीहरुलाई अहिलेको सरकारले अगाडि ल्याउनसक्ने छ । तर, एआईजी बढुवामा प्रहरी प्रमुखको समेत महत्वपूर्ण भूमिका हुने भएकाले उनीहरुलाई आईजीपी थापाले के गर्लान् ? चासोको विषय बनेको छ ।
तर, अहिलेको प्रहरी नेतृत्वले समेत एआईजी बढुवामा उनीहरुलाई समेटेर तत्कालिन गृहमन्त्री लामिछानेको गल्ती सच्याउनुपर्ने बताएको स्रोत बताउँछ । यदी उनीहरुलाई अहिले बढुवा गरेर न्याय दिएको अवस्थामा उक्त टोलीका एकजनाले आगामी कात्तिकपछि प्रहरीको नेतृत्व गर्न पाउनेछन् ।
उनीहरु २०८१ मंसिर १७ गते डिआईजीमा बढुवा भएका हुन् ।
त्यसपछि २०५४ सालमा प्रहरी सेवा प्रवेश गरेका अधिकृतहरु पनि एआईजी बन्ने दौडमा लागिपरेका छन् । उनीहरु ०५३ को टोलीलाई पछाडि पारेर एआईजी हुने दाउमा रहेको स्रोत बताउँछ । तर, उनीहरुको सम्भावना कम रहेको बताइन्छ ।
जसमा दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारी रहेका छन् । उनीहरु २०८१ जेठ ४ मा डिआईजीमा बढुवा भएका हुन् । तर, यो टोलीबाट एकजना मात्र् एआईजी बढुवामा पर्नसक्ने सम्भावना रहेको गृह स्रोत बताउँछ । यी ३ जनामध्ये अधिकारीको सम्भावना प्रबल रहेको बताइन्छ ।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी)सम्म ०५३ को टोली अगाडि रहेपनि डिआईजीमा ०५४ को टोलीले अस्वभाविक फड्को मारेको थियो । जसले गर्दा उनीहरु अहिलेपनि ०५३ को टोलीलाई उछिनेर एआईजी हुन हरदम प्रयास गरिरहेका छन् ।
तर, आईजीपी थापाले लामिछानेले गरेको गल्तीलाई सच्याएर ०५३को टोलीलाई बढुवा गर्छन् या गर्दैनन् ? त्यो बढुवापछि थाहा होला । यद्यपी, उनीहरु आवश्यक परेरै त्यतिबेला प्रहरीमा स्थान्तरण भएका थिए ।
