काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले रवि लामिछाने गृहमन्त्री हुँदाको अवस्था के थियो भन्दै टिप्पणी गरेका छन् ।
अदालतको आदेशलगत्तै घरमै पुगेर पक्राउ पूर्जी बनाएको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको बेला महासचिव पोखरेलले लामिछाने गृहमन्त्री भइसकेकाले यस्ता विषमा जानकार रहेको जनाएका छन् ।
उनले लामिछाने गृहमन्त्री हुँदा ‘रिति र थिति’ कस्तो थियो स्मरण गर्न रास्वपाका नेताहरुलाई आग्रह गरेका छन् । उनले सुधारको खोजी यस्तै बेलामा हुने तर्क समेत गरेका छन् ।
पोखरेलले सामाजिक सञ्जालमा फेसबुकमा लेखेका छन्,‘प्रहरीको पूर्जी काट्ने ुरीति र थितिु रवि जी गृहमन्त्री हुँदाको अवस्थामा के थियो भन्ने हेक्का रास्वपाका नेताहरुलाई थाहा नहुने कुरै भएन । तर पनि सुधारको खोजी यस्तै बेलामा हुने त हो नि ?’
गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रहेको समयमा लामिछानेलाई बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम ठगी मुद्दामा शुक्रबार न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले थुनामा पठाउने आदेश दिएको छ ।
शुक्रबार पक्राउ परेका लामिछाने राति जिल्ला प्रहरी परिसर, काठमाडौंकै हिरासतमा राखिएको छ । लामिछानेलाई अदालतमा उपस्थित गराउन शनिबार प्लेनमार्फत भैरहवा लैजाने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । विमानमार्फत भैरहवा पठाएर लामिछानेलाई पुर्पक्षका लागि कारागार चलान हुनेछन् ।
