काठमाडौं । शुक्रबार उच्च अदालत बुटवलको तुलसीपुर इजलासले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश गर्यो ।
जिल्ला अदालत रुपन्देहीको १ करोड धरौटीमा छाड्ने आदेशलाई बदर गर्दै उच्च अदालत बुटवलको तुलसीपुर इजलासले लामिछानेलाई थुनामा पठाउने आदेश दिएको हो ।
जिल्लाको उक्त आदेशलाई उल्ट्याउँदै उच्चका न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले रविलाई थुनामा पठाउने आदेश दिएको हो ।
न्यायाधीश ढकाल यही पुस १२ गतेमात्र उच्च अदालत पाटनबाट तुलसीपुर सरुवा भएका हुन् भने पराजुली २०८० भदौ ३१ गते जिल्ला न्यायाधीशबाट उच्च अदालतको न्यायाधीशमा नियुक्ति भएसँगै असोज २ गते तुलसीपुर इजलासमा पदस्थापना भएका थिए ।
शुक्रबार न्यायाधीशद्वयको इजलासमा रवि लामिछाने र छविलाल जोशीको मात्रै मुद्दा परेको थियो । उक्त इजलासले छविलाल जोशीलाई जिल्ला अदालतको फैसलालाई सदर गर्दै थुनामै राख्ने आदेश दिएको हो भने लामिछानेसहितको दुवै मुद्दामा भने जिल्लाको फैसला बदर गर्दै थुनामा पठाएको हो ।
शुक्रबार भएको आदेशपछि रवि निवासमै पुगेर पक्राउ पूर्जी तयार गर्दै प्रहरीले उनलाई पक्राउ गरिसकेको छ । पक्राउपछि लामिछानेले पहिलो रात काठमाडौं परिसरको हिरासतमा रात बिताएका छन् भने अब उनलाई जिल्ला कारागार चलानका लागि आज नै रुपन्देही लगिँदैछ ।
