काठमाडौं । पाँचथरको कुम्मायक गाउँपालिकाको निजी जंगलमा लागेको लागेको डढेलोमा परेर विहिबार घाँस काट्न गएकी एक युवतीको मृत्यु भएको छ भने बालिकासहित ३ जना गम्भीर घाइते भएका छन्।
कुम्याक–३ ताम्राखुका अमर थापा र पदम खड्कालगायतको निजी वनमा लागेको डढेलोमा परेर घाँस दाउरा गर्न गएकी कुम्याक–३ हात्तीपोखरीकी २२ वर्षीया प्रतिमा सम्वाहाम्फेको मृत्यु भएको हो। गम्भीर घाइते भएकी उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो।
उपचारका क्रममा राति करिब ९ बजे उनको मृत्यु भएको पाँचथर प्रहरीका डीएसपी कौशलकुमार बुढाथोकीले जानकारी दिए। तलबाट सल्किएको डढेलोमा ४ जना परेका थिए। कतै भाग्न सक्ने ठाउँ नभएपछि उनीहरु जलेको प्रहरीले जनाएको छ।
घटनामा २८ वर्षीया सपना सम्वाहाम्फे, उनकी छोरी ११ वर्षीया शिवाना सम्वाहाम्फे, ६० वर्षीया निरमाया सम्वाहाम्फे घाइते छन्। उनीहरुको धरानमै उपचार भइरहेको छ। आगोले जलेर घाइते भएका सबै जनालाई प्रहरीले उद्धार गरेर उपचारका लागि धरान पठाएको थियो।