काठमाठौं । सर्लाही प्रहरीले होटल सञ्चालकलाई धाकधम्की दिएको आरोपमा एक जनालाई पक्राउ गरेको छ । आफूलाई नेपाल प्रहरीको ‘इन्सपेक्टर’ हुँ भनेर होटल सञ्चालकलाई धाकधम्की दिएको आरोपमा प्रहरीले युवकलाई पक्राउ गरेको हो ।
प्रहरी टोलीले हरिवन नगरपालिका-६ का २९ वर्षीय अनुक्रम खरेललाई बुधबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) सरोज राईले जानकारी दिए ।
उनका अनुसार मलंगवा नगरपालिका१० स्थितमा रहेको साहारा गेष्ट हाउसका सञ्चालकलाई धाकधम्की दिएको आरोपमा पक्राउ गरिएको हो । होटल सञ्चालकलाई धाकधम्की दिएको सूचना प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय मलंगवाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनको भनाइ छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा सर्लाहीले जारी गरेको प्रेस नोटमा पक्राउ परेका खरेल नेपाल प्रहरीको इन्सपेक्टर नभएको र उनको शरीर खानतलासी गर्दा प्रतिबन्धित लागुऔषध स्मास्मो ३ पत्ता २४ वटा ट्याबलेट फेला परेको उल्लेख गरेको छ ।
पक्राउ परेका खरेललाई प्रहरी हिरासतमा राखेर अवश्यक अनुसन्धान भइरहेको छ ।
