काठमाडौं ।गत चैत १५ गते तिनकुनेमा भएको हिंसात्मक राजावादी आन्दोलनमा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्। राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा रास्वपा नेता पक्राउ परेका हुन्।
रास्वपाको निर्वाचन क्षेत्र समिति खोटाङका संयोजक समेत रहेका डाक्टर राजकुमार राई राप्रपाका नेताहरुसँगै पक्राउ परेका हुन् । प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो।
उनीमाथि भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेको अभियोग लगाइएको छ। खोटाङ रावाबेसी गाउँपालिका–१ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।
पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको समय लिएर थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।
गएको पुस १३ गते राई खोटाङको जिल्ला अध्यक्षमा पराजित भएका थिए। केन्द्रीय सदस्य तोसिमा कार्कीको उपस्थितिमा पुस १३ गते शनिबार दिक्तेलमा भएको जिल्ला भेलामा उनी मुकुन्दकृष्ण थापासँग पराजित भएका थिए।
उनी यसअघि खोटाङमा नेपाली कांग्रेसका नेता थिए। पछि उनी रास्वपाको सक्रिय राजनीतिमा फर्किएका हुन्। अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ।
आन्दोलनमा दुई जनाको ज्यान गएको थियो ।
