काठमाडौं । वरिष्ठ अधिवक्तामाथि ठगी र बैंकिङ कसूरमा मुद्दा दायर भएको छ।
बैतडी घर भई काठमाडौं महानगरपालिका–३२, कोटेश्वर बस्दै आएका वरिष्ठ अधिवक्ता त्रिलोकबहादुर चन्दविरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।
जबरजस्ती करणीको मुद्दामा मिलापत्र गराइदिन्छु भन्दै चन्दले गिरी थरका व्यक्तिबाट १४ लाख रुपैयाँ लिएको आरोप छ ।
चन्दले विपक्षी वकिल र न्यायाधीशलाई पैसा खुवाउनुपर्छ भन्दै लाखौं रुपैयाँ लिएका थिए । तर, मुद्दा उल्टो बिगारेपछि पीडितले पैसा फिर्ताका लागि पटक–पटक दबाब दिएका थिए ।
यस क्रममा चन्दले गत असार २४ गते एनएमबी बैंक, पुतलीसडक शाखाको चेक दिए पनि सो चेक बाउन्स भएको थियो । चेक बाउन्स भएपछि पीडितले चन्दविरुद्ध बैंकिङ कसूरमा मुद्दा दायर गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय, पर्साले प्रमाण नष्ट हुन सक्ने भन्दै पक्राउ पुर्जीको अनुमति मागेको थियो । अदालतले कात्तिक २५ गते पक्राउ पुर्जी जारी गरे पनि चन्द हालसम्म पक्राउ परेका छैनन् ।
