काठमाडौं । काठमाडौंको तीनकुनेमा गत शुक्रबार भएको प्रदर्शन, तोडफोड, आगजनी र लुटपाटका घटनामा थप ७ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार राज्य विरूद्धको कसुर र संगठित अपराधसम्बन्धीको कसुरमा १ र उपद्रव कसुरमा ६ जना गरी ७ जनालाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरिएको हो ।
राज्य विरूद्धको कसूरमा रूपन्देशी देवदह नगरपालिका-९ घर भएका ४७ वर्षीय प्रेमथापा मगरलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका प्रवक्ता तथा एसपी अपिलराज बोहराले जानकारी दिए ।
अपराधिक उपद्रव कसूरमा झापा गौरादह नगरपालिका-१ घर भएका २१ वर्षीय समिर मगर, रामेछाप सुनापाति गाउँपालिका-१ का २२ वर्षीय सुरेश गौतम, ताप्लेजुङ फुलुङ नगरपालिका-३ का २३ वर्षीय सुशिल बराल पक्राउ परेका छन्।
सोही कसूरमा नुवाकोट बेलकोटगढी नगरपालिका-७ का २७ वर्षीय रमेश राई, अछाम पंचदेवल नगरपालिकाका २० वर्षीय गोकर्ण शाही र संखुसभा पाँचखपन नगरपालिका-२ का ३९ वर्षीय मुकुन्द दहाल पक्राउ परेको एसपी बोहराले जानकारी दिए।
उनीहरूमाथि अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको एसपी बोहराले बताए । अहिलेसम्म उक्त घटनामा प्रहरीले ६६ जनालाई पक्राउ परिसकेका छन् ।
