काठमाडौं । गत ४ चैतमा टोखास्थित झोरमा ट्रकमा लुकाइएको २५ करोड बराबरको डलर र युरोको मालिक पत्ता लागेको छ । प्रहरीको जानकारी र विज्ञ अनुसन्धानबाट शंकास्पद व्यक्तिको पहिचान खुलेको हो ।
उक्त रकम सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–४ स्थायी घर भई हाल टोखा नगरपालिका–१० मा बसोबास गर्ने नारायण पौडेलको भएको पुष्टि भएको छ । पौडेललाई पक्राउ गर्न अदालतबाट पुर्जी जारी भइसकेको छ ।
ना ७ ख १६५२ नम्बरको ट्रकमा रकम लुकाएर लैजाँदै गरेको अवस्थामा प्रहरीले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–१ का ४३ वर्षीय चालक कुसान लामालाई पक्राउ गरेको थियो ।
चालक लामाले ट्रकको चालक सिट पछाडि फल्स बटम बनाएर रकम लुकाएको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको थियो ।
चालक लामाको बैंक खाताको विवरण जाँच्दा अस्वाभाविक कारोबार फेला परेको छ। उनको मोबाइलको सीडीआर विश्लेषण गर्दा पौडेलसँग अन्तिम पटक सम्पर्क भएको देखिएको प्रहरीले जनाएको छ ।
यसैगरी, प्रहरीले पौडेलको मोबाइल नम्बरको सीडीआर विश्लेषणलाई तीव्र बनाएको छ ।
