काठमाडौं । पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सञ्चारमाध्यमलाई लक्षित गर्दै गरिएको आक्रमणको निन्दा गरेका छन् । तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालयमाथिको आक्रमणपछि बुधबार अवलोकन गर्दै पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सञ्चारमाध्यममाथिको आक्रमण दुःखद भएको बताएका हुन् ।
उनले आगजनीको प्रयासलाई प्रजातन्त्र र खुला प्रणालीमाथिको आक्रमणको संज्ञा दिए । मिडियामाथिको आक्रमण अस्वीकार्य हुने उनले बताए । श्रेष्ठले भने, ‘प्रजातन्त्र जोगाउन मिडियाको भूमिका अपरिहार्य हुन्छ। त्यसैले मिडियामाथिको आक्रमण स्वीकार्य हुँदैन।’
मिडिया नभए मुलुक चल्न नसक्ने श्रेष्ठको धारणा छ। ‘सहमति होस् वा असहमति जुनसुकै बेला पनि मिडिया चाहिन्छ। यो वा त्यो जुनसुकै पक्षले जुनसुकै अवस्थामा पनि मिडियामा आक्रमण गर्नु हुँदैन,’ पूर्वप्रधानन्यायाधीश श्रेष्ठले भने,‘मिडियामाथिको खुला प्रणाली (ओपन सिस्टम) माथिको प्रहार हो। सरकार नभए मुलुक चल्छ। तर, मिडिया नभए मुलुक चल्न सक्दैन।’
