काठमाडौं । राजावादी आन्दोलनका क्रममा हिंसात्मक प्रदर्शन गरेको आरोपमा पक्राउ परेका ४१ जनालाई दोस्रो पटक म्याद थपका लागि बुधबार अदालतमा उपस्थित गराइँदैछ।
जिल्ला प्रहरी परिसर, काठमाडौंको हिरासतमा रहेका उनीहरूलाई काठमाडौं जिल्ला अदालतमा लगिने प्रहरीले जनाएको छ। ३० जना आपराधिक उपद्रव र संगठित अपराध तथा ११ जना राज्यविरुद्धको कसुर अन्तर्गत पक्राउ परेका हुन्।
आइतबार उनीहरूको पाँच दिनको म्याद थप गरिएको थियो, जुन मंगलबार सकिएकाले आज पुनः म्याद थप गर्न लागिएको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी तथा प्रवक्ता अपिल राज बोहराले जानकारी दिए।
म्याद थपका लागि लैजान लागिएकामध्ये राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद तथा महामन्त्री धवल शमशेर राणा लगायतका नेता तथा कार्यकर्ता रहेका छन्। यसअघि मंगलबार मात्रै प्रहरीले थप १८ जनालाई पक्राउ गरी म्याद थप गरेको थियो।
