काठमाडौं । राप्रपाका सांसद बुद्धिमान तामाङले चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा पुगेपनि आफू त्यहाँबाट भागेको बताएका छन्।
बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा घटनाको निष्पक्ष छानबिनको माग गर्दै सांसद तामाङले कार्यक्रमको मञ्चमा दुर्गा प्रसाईंको फोटो देखेपछि आफू भागेको बताएका हुन्।
‘हाम्रो पार्टीको अध्यक्ष राजेन्द्र लिङ्देनज्यू, ज्ञानेद्र शाहीसहित हाम्रो ग्रुप नै थियो। हामी प्रदर्शनमा जाने कुरा भइरहेको थियो। तर, मञ्चतिर हेर्दा त राजाको फोटो, अनि त्यही साइजको दुर्गा प्रसाईंको फोटो राखेको देखियो,’ उनले भने, ‘ओहो, खत्तम रहेछ भन्ने लाग्यो। हामी गएनौँ। आन्दोलनलाई समर्थन गर्ने भनेरमात्र हुँदो रहेनछ। हाम्रोबाट अध्यक्ष जानुभएन, धेरैजना जानुभएन । मैले पनि यसो हेरेको दुर्गा प्रसाईंको फोटो देखेपछि टाप कसिहालेँ नि। फोटो देखेर डर लागिहाल्यो नि।’
उनले यस्ता घटनाको छानबिनको पनि माग गरे। उनले प्रदर्शन कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले अश्रुग्यास प्रहार गरेको दाबी गरे। ‘मान्छेहरू आउँदै थिए, कार्यक्रम सुरु हुँदै थियो। त्यहीबेला मञ्चमा टियरग्यास हानियो,’ उनले भने।
आफ्ना पार्टीका नेतालाई प्रहरी हिरासतमा राखिएकोमा पनि उनले आपत्ति जनाए।
