काठमाडौं । भारतीय ग्याङ स्टारका नाइके लरेन्स विश्नोई र अनमोल विश्नोईको नाम सालिँदै फिरौती रकम मागेको आरोपमा प्रहरीले भगौडा सैनिकलाई पक्राउ गरेको छ ।
सामाजिक संजाल ह्वाट्स एपको प्रयोग गरी ५ करोड भारतीय रूपैयाँ फिरौती रकम माग गरेको अभियोगमा सुर्खेतको भेरीगंगा नगरपालिका–७ काठेघारीका ४१ वर्षीय रामबहादुर बिसी (बुढा क्षेत्री) पक्राउ परेका हुन् ।
पछिल्लो समय कोहलपुर नगरपालिका-५ मा डेरा गरी बस्दै आएका बिसी बाँकेमा पक्राउ परेका हुन् । उनलाई इलाका प्रहरी कार्यालय कोहलपुर, बाँकेबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
विभिन्न विदेशी नम्बरको ह्वाट्स एप खोली विश्नोई हो भनि म्यासेज गरी उक्त रकम माग गरेको र उक्त रकम नदिएमा जे पनि हुन सक्ने भनि धम्काउने गरेको भन्ने सूचनाको आधारमा क्षेत्री पक्राउ परेको कोहलपुरका डिएसपी धर्मराज भण्डारीले बताए ।
पक्राउ परेका क्षेत्री पटकपटक पक्राउ परेर मुद्दा चलेका विवादित व्यक्ति हुन् । प्रहरीको क्रिमिनल रेकर्ड सिस्टम (सीआरएस)मा उनको आपराधिक विगत देखिएको प्रहरीले जनाएको छ ।
उनी नेपाली आर्मीका भगौडा हुन् । २०५९ सालमा जागिर छाडेर भागेका उनी विभिन्न नामले आपराधिक समूहमा लागेर अपराधको गतिविधि गर्दै आएका थिए । आपराधिक क्रियाकलाप गर्ने उदेश्यले उनले भारतीय आधारकार्ड समेत लिएको पाइएको प्रहरीको भनाइ छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।
