काठमाडौं । अमेरिकाले केहीअघि १० जना भुटानी शरणार्थीलाई अमेरिकाबाट भुटान डिर्पोट गरेको थियो । तर, भुटानले पनि उनीहरूलाई त्यहाँबाट लखेट्यो । भुटानबाट पनि लखेटिएका १० जनामध्ये ६ जना कहाँ छन् भन्ने अत्तोपत्तो छैन ।
यद्यपि ३ जनालाई भने यसअघि नै प्रहरीले झापाको दमकस्थित बेलडाँगी भुटानी शिविरबाट पक्राउ गरेको थियो । उनीहरूलाई पक्राउ गरी अध्यागमन कार्यालय काँकडभिट्टाको जिम्मा लगाइएको थियो । १० जनामध्ये तीनजना पानीट्यांकी हुँदै दमक नगरपालिका-३ बेलडाँगी शिविर पुगेका थिए । बाँकी ७ जना भारतको पानीट्यांकीमा बसेको हुनसक्ने आशंका प्रहरीको थियो ।
यसै क्रममा गए राति भुटानबाट लखेटिएका अर्का एक भुटानी शरणार्थी नेपाल प्रवेश गर्ने क्रममा पक्राउ परेका छन् । गए राति करिब पौने ८ बजेतिर झापाको मेचीनगर-४ स्थित मिलनटुङ्ग सीमा नाकामा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका व्यक्तिलाई सीमा नाकामा ड्युटीमा खटिएको सशस्त्र प्रहरी बलले चेकजाँच गर्दा परिचय खुल्ने उनीसँग कुनै पनि परिचयपत्र थिएन ।
आफूलाई अमेरिकाबाट फिर्ता आएको भुटानी नागरिक बताउने ३० वर्षीय अशोक गुरुङलाई नियन्त्रणमा लिई गए राति ९ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टामा बुझाइएको छ । उनको विषयमा पनि थप अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ ।
