काठमाडौं । नेपाली सेनाको जहाज मेडिकल राहतसहित म्यानमारतर्फ उडेको छ । बुधबार बिहान १०ः४८ बजे सेनाको सीएन–२३५ विमान बंगलादेशको ढाका हुँदै म्यानमारका लागि उडेको हो ।
गत शुक्रबारको शक्तिशाली भूकम्पमा व्यापक जनधनको क्षति पुगेको दक्षिणपूर्वी मुलुक म्यानमारमा नेपालका तर्फबाट सेनाले मेडिकल सहायता गर्ने जनाएको छ ।
म्यानमारको मध्य क्षेत्रमा शुक्रबार ७ दशमलव ७ म्याग्निच्यूडको विनाशकारी भूकम्प गएको थियो । जसमा कम्तीमा २७ सय मानिसको ज्यान गएको थियो भने ४५ सय बढी सर्वसाधरण घाइते भएका थिए ।
म्यानमार उडेको सेनाको विमानले मेडिकल टोली छाडेर भोली नै काठमाडौं फर्किने छ । ६ दिनपछि पुन उनीहरुलाई सैनिक विमान काठमाडौंबाट लिन जाने तालिका रहेको सैनिक प्रवक्ता गौरवकुमार केसीले बताए ।
नेपालको इतिहासमै पहिलोपटक म्यानमारका लागि प्राकृतिक विपद्मा सैनिक जहाज पठाइएको हो । उडानमा सेनाका पाइलट सहायक रथी रामसुन्दर बोहोरासहित ५ जना चालक दलको टोली तथा स्वास्थ्यकर्मीसहित १६ जना रहेका छन् ।
