काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी उपरीक्षक (एसपी) सरुवाको तयारी गरेको छ । प्रहरी नियमावलीले प्रहरी उपरीक्षक (एसपी) सम्मका प्रहरी अधिकारीको सरुवाको निर्णय गर्ने अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई दिएको छ ।
जिल्ला प्रहरी प्रमुखका रूपमा एक वर्षे कार्यअवधि पूरा गरेका एक दर्जनभन्दा बढी एसपीको सरुवा हुन लागेको हो । गत वर्ष फागुन १ को बढुवामा विभिन्न जिल्ला प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेका एसपीहरु अहिले सरुवाको मुखमा छन् ।
झापाका मिलन केसी, रुपन्देहीका रन्जितसिंह राठौर, कन्चनपुरका चक्रराज जोशी, कैलालीका पदमबहादुर विष्ट, बाँकेका तुलबहादुर कार्की, पाल्पाका नरेन्द्रबहादुर चन्द, गोरखाका वासुदेव पाठक, गुल्मीका राजन भुजेल, सुर्खेतका रुपेश खड्का, स्याङ्जाका शालिग्राम शर्मा, काभ्रेकी वसुन्धरा खड्काको एक बर्ष पुगिसकेको छ ।
जिल्ला प्रहरी प्रमुखका रूपमा एक वर्षको कार्य अवधि पूरा गरेका उनीहरुको सरुवा हुने भएपछि उक्त जिल्ला जानका निम्ति केही एसपीहरुले दौडधुप तीव्र बनाएका छन् ।
प्रहरी महानिरीक्षक दीपक थापाले सरुवा मापदण्ड संशोधन गर्दै कार्यक्षमताका आधारमा एसपी सरुवा गर्न मातहत शाखालाई निर्देशन दिएका छन् । ‘भनसुनमा हैन, क्षमता हेरेर गर्न निर्देशन दिनुभएको छ’, एक प्रहरी अधिकृतले भने ।
एसपीको लागि तराईका जिल्लामध्ये आकर्षक पोस्टिङ मानिने झापा र रुपन्देहीको लागि दर्जन बढी एसपी शक्तिकेन्द्रको दौडधुपमा लागेका छन् । त्यस्तै काभ्रे, कैलाली, कंचनपुर जान पनि एसपीहरुले चर्को दौडधुप गरिरहेको स्रोत बताउँछ ।
