काठमाडौं । राजावादी भनिएकाहरूले चैत १५ गते शुक्रबार तीनकुने क्षेत्रमा आयोजना गरेको प्रदर्शन हिंसात्मक हुन पुगेको थियो । जुन आन्दोलनका कमाण्डर थिए विवादित व्यक्ति दुर्गा प्रसाईं । हाल उनी फरार छन् ।
यस विषयमा प्रहरी महानिरीक्षक दिपक थापाले प्रसाईंको व्यापक रुपमा खोजतलास भइरहेको बताएका छन् । स्कुपखबरसँगको कुराकानीमा थापाले प्रसाईं छिट्टै पक्राउ पर्ने दाबी गरेका हुन् ।
‘कति दिन भाग्लान् र ? भागेर कहाँ पो जालान् र ? कानुनी दायरामा आउनै पर्ला नि !’ महानिरीक्षक थापाले भने, ‘उनलाई चाँडोभन्दा चाँडो पक्राउ पर्छन् । हामी लागिपरेका छौं ।’
उपत्यकामात्र होइन सातै प्रदेश र ७७ वटै जिल्लाका प्रहरी प्रमुखहरूलाई निर्देश गरिसकेको उनले बताए ।
तिनकुने घटनामा आपराधिक काम भएको दाबी गर्दै उनले भने, ‘आपराधिक कार्यमा संलग्न रहेका विभिन्न तह र तप्काका व्यक्तिलाई अनुसन्धानको दायरामा ल्याएका छौं । घटनामा संलग्नलाई दिनहुँजसो पक्राउ गरी कानुनी दायरामा ल्याइरहेका छौं ।’
११ जनालाई राजद्रोहमा मुद्दा चलाउन अदालतबाट म्याद थप भएको जानकारी दिदै ४१ जनालाई आपराधिक उपद्रवमा अनुसन्धान भइरहेको उनले बताए ।
